अन्तराष्ट्रिय

शेख हसिनाको आज प्रधानमन्त्रीमा शपथ

ढाका  । बङ्गलादेशको अवामी लिगकी अध्यक्ष शेख हसिनाले सोमबार प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उहाँको दलले संसदमा बहुमत हासिल गरेसँगै हसिना पुनः प्रधानमन्त्रीमा नियुक्त हुन लाग्नुभएको हो ।

उहाँ लगातार तेस्रो कार्यकालको लागि पुनः प्रधानमन्त्री बन्न लाग्नुभएको हो । आज मन्त्रीहरुको पनि नियुक्ति हुने र ४७ जनाको मन्त्रिपरिषद बन्ने जनाइएको छ । ती मन्त्रीहरुमा ३१ जना भने नयाँ अनुहारका मन्त्रीहरु हुने पनि प्राप्त समाचारमा जनाइएको छ ।

बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदले आजै अपराह्न प्रधानमन्त्री शेख हसिनालाई सपथ दिलाउनुहुने जनाइएको छ । राष्ट्रपति अब्दुल हमिदले बहुमत प्राप्त पार्टीका अध्यक्ष शेख हसिनालाई सरकार गठन गर्न औपचारिक आमन्त्रण गर्नुभएको छ । प्रधानमन्त्रीका रूपमा शेख हसिनाको यो लगातार तेस्रो कार्यकाल हुनेछ । गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनमा अवामी लिग र यस आवद्ध पार्टीहरु सहित २८८ सिटमा विजय हुन सफल भएका थिए ।

हाल बङ्गलादेशको संसदमा २९९ सिट रहेको छ । हसिनाको यो चौथो प्रधानमन्त्रीको कार्यकाल हो । यसअघि ७१ वर्षीया हसिना सन् २००९ देखि लगातार बङ्गलादेशको प्रधानमन्त्रीमा रहनु भएको र त्यसअघि उहाँ सन् १९९६ देखि २००१ सम्म पनि बङ्गलादेशको प्रधानमन्त्री हुनुहुन्थ्यो । बङ्गलादेशको नयाँ संसद्को अधिवेशन भने जनवरी २८ देखि शुरु हुनेछ ।-रासस/पिटिआई