अन्तराष्ट्रिय

मालदिभ्स्मा सन् २०१८ मा करिब १५ लाख विदेशी पर्यटक पुगे

माले । क्षेत्रफल तथा जनसंख्याको हिसाबले सानो देश मालदिभ्स्मा सन् २०१८ मा मात्र करिब १५ लाख जति विदेशी पर्यटक पुगेको समाचार छ । एक वर्षमा यति धेरै पर्यटक यस देशमा पुगेको यो नै पहिलो पटक भएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मालदिभ्स्का पर्यटनमन्त्री अलि वाहिदले यहाँका स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार गत वर्षमात्र यहाँ १४ लाख ८४ हजार जना विदेशी पर्यटक पुगेका हुन् ।

उहाँले मालेमा रहेका सञ्चारमाध्यमहरुलाई शुक्रबार सो जानकारी दिनुभएको हो । यो पर्यटक संख्या त्यो भन्दा अघिल्लो वर्ष अर्थात् सन् २०१७ को भन्दा करिब ६.८ प्रतिशतले बढी हो । यसरी मालदिभ्स् पुगेका पर्यटकहरुमध्ये धेरै पर्यटक चीन र जर्मनीबाट पुगेका थिए । यो जानकारी पनि पर्यटनमन्त्री वाहिदले शुक्रबार आयोजित पत्रकार सम्मेलनका क्रममा जानकारी दिनुभएको हो । मालदिभ्स् सरकारले हालैमात्र सो देशमा पर्यटक आउने ठूलो देश मालदिभ्स रहेको बताइएको थियो । मालदिभ्स सरकारले पछिल्ला केही समयमा चीनबाट पर्यटक भित्र्याउनका लागि विभिन्न पर्यटकीय कार्यक्रमहरु पनि ल्याएको छ ।

मालदिभ्स्मा पर्यटक भित्र्याउनका लागि सो देशको सरकारले चीनका पर्यटक कम्पनीहरुलाई विभिन्न कार्यक्रमहरुको घोषणा गर्न तथा हवाई उड्डयन कम्पनीहरुलाई पनि बढी उडानहरु भर्न आग्रह गरेको थियो । मालदिभ्स् पर्यटकीय देश हो । यहाँको प्राकृतिक सौन्दर्यको आकर्षणका कारण अधिकांश युरोपेली देशका पर्यटकहरु यस देशमा आउने गर्दछन् । तर पछिल्लो समयमा भने मालदिभ्स्मा चिनियाँ पर्यटकहरु बढी मात्रामा पुग्ने गरेका बताइएको छ ।-सिन्ह्वा