अन्तराष्ट्रिय

निप्पोन एयरवेजले ४८ थान विमान खरिद गर्ने

टोकियो । जापानको अल निप्पोन एयरवेज (एएनए)ले सन् २०२१ देखि २०२५ को अवधिमा बोइङ र एयरबस कम्पनीबाट ४८ थान नयाँ विमान खरिद गर्ने निर्णय गरेको छ । एएनए होल्डिङ्सले मङ्गलबार जारी गरेको विज्ञप्तिमा बोइङ कम्पनीका ७३७ म्याक्स ८ सिरिजका ३० थान र एयरबस कम्पनीका ए३२०नियो सिरिजका १८ थान विमान खरिद गरिने उल्लेख छ । जापानभित्रै र क्षेत्रीय स्तरमा एएनएको सेवाप्रति उपभोक्ताले निकै अभिरुचि देखाएका कारण विमान थप्नु परेको विज्ञप्तिमा जनाइएको छ ।

कम्पनीका अनुसार ३० वटा बोइङ जहाजको ३ अर्ब ५० करोड डलर (३८३ अर्ब जापानी येन) पर्नेछ भने एयरबसको मूल्य १६६ अर्ब जापानी येन पर्नेछ । बोइङको नयाँ मोडेलको विमान खरिद गर्ने एएनए पहिलो जापानी कम्पनी हो । एयरबस ए३२०नियो सिरिजका विमान भने यसअघि नै एएनएको अन्तर्राष्ट्रिय उडानमा प्रयोग भइरहेका छन् । कम्पनीले दुबै किसिमका नयाँ जहाजहरु इन्धन किफायती रहेको पनि जनाएको छ ।  -रासस/एपी