अन्तराष्ट्रिय

काश्मिर आक्रमणको ठूलो मूल्य चुकाउनु पर्छ : भारतीय प्रधानमन्त्री

नयाँ दिल्ली  । भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको छ । भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षा अधिकारीहरु लक्षित भीषण आक्रमण तीन दशक यताकै ठूलो रक्तपातपूर्ण भएको बताइएको छ ।

छुट्टी मनाएर काममा फर्कदै गरेका करिब दुई हजार ५०० सुरक्षाकर्मी लिएर गइरहेका ७८ ओटा सवारी साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले आत्मघाती आक्रमण गरिएको थियो । उक्त आक्रमणमा परी करिब ४१ जना सैनिकको मृत्यु भएको थियो ।

स्थानीय सञ्चार माध्यमका अनुसार यस आक्रमणको जैस ए–मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको छ । सैनिक सवार साधनमाथि स्थानीय लडाकू आदिल अहमदले आत्मघाती आक्रमण गरेको बताइएको छ । सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि काश्मिरलाई भारत र पाकिस्तानतर्फ विभक्त गरिएको थियो । आणविक हतियार भएका भारत र पाकिस्तानबीच काश्मिरको विषयलाई लिएर तीन पटक युद्ध भइसकेको छ । मसुद अजहरको नेतृत्वमा रहेको जैस ए–मोहम्मद आतङ्ककारी समूहलाई पाकिस्तानले पूर्णरुपमा स्वतन्त्रता दिएको र पाकिस्तानको नै नियन्त्रणमा यसले बढावा पाइरहेको भारतको दाबी छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्ककारी समूह र उनका मालिकहरुले ठूलो गल्ती गरेका र यसको मूल्य चुकाउनु पर्ने बताउनुभएको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त कुरा बताउनु भएको हो । तर उहाँले के कारबाही गर्ने भन्नेबारेमा केही बताउनुभएन ।

“हाम्रा छिमेकी मुलुकले हाम्रो देशमा यस्ता घृणित कार्य र छलकपट मार्फत अस्थिरता सिर्जना गर्दछु भन्ने सोचेको भए त्यो उनीहरुको दुःस्वप्न मात्र हो । तिनीहरु कहिल्यै सफल हुने छैनन्,” प्रधानमन्त्री मोदीले भन्नुभयो । वित्तमन्त्री अरुण जेट्लीले समेत यस आक्रमणमा पाकिस्तानको संलग्न रहेकामा कुनै आशंका नरहेको बताउनुभयो । उहाँले पाकिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट पूर्ण रुपमा अलग्याउन भारतले सबै किसिमका प्रयत्न गर्ने पनि जानकारी दिनुभयो । पाकिस्तानले भने भारतको दाबी असत्य रहेको जनाएको छ ।

“भारतीय सञ्चार माध्यम र सरकारले काश्मिर आक्रमणमा पाकिस्तानको संलग्नता रहेको भनी गरिएको दाबी असत्य छ, र कुनै किसिमको अनुसन्धान बेगर पाकिस्तान विरुद्ध भारतले आरोप लगाउनु दुःखद हो,” पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संयुक्तराज्य अमेरिकाले पनि काश्मिर घटनाको भत्र्सना गर्दै सबै मुलुकले “आतङ्ककारीहरुलाई सुरक्षित स्थान उपलब्ध गराउने र मद्दत गर्ने कार्यहरु बन्द गर्न” आग्रह गरेको छ ।

केन्द्रीय प्रहरी बल (सीआरपीएफ) का जवान बोकेका दुईवटा नीला बस आक्रमणको निशानामा परेका थिए । विस्फोटक पदार्थले भरिएको भ्यानले गरिएको आत्मघाती आक्रमणको आवाज धेरै माइल टाढासम्म सुनिएको थियो । “पहिलो बसमा सबार सबैजसो जवानको मृत्यु भयो,” नाम नबताउने शर्तमा एक जना उच्च प्रहरी अधिकारीले बताउनुभयो ।-रासस/एएफपी