अन्तराष्ट्रिय

सन् २०१८ मा एचएसबीसीको नाफा २० अर्ब डलर

हङकङ । विश्वमै ठूलो बैंक मानिएको एचएसबीसीको सन् २०१८ को नाफामा १६ प्रतिशतले वृद्धि भई करिब २० अर्ब डलर पुगेको छ । बैंकद्वारा मङ्गलबार जारी वक्तव्यमा उक्त नाफा करबाहेकको रकम रहेको जनाइएको छ । वर्षको अन्तिम चौमासिक अवधिमा चुनौतीपूर्ण बनेको बाह्य वातावरणका बाबजूद बैंकको नाफा सकारात्मक रहेको बैंकको भनाई छ ।

मुख्य व्यावसायिक गतिविधि एसियामा केन्द्रित गरेको एचएसबीसी बैंकका प्रमुख कार्यकारी अधिकृत जोन फ्लिन्टले संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनाबकै बीचमा पनि बैंकलाई प्रतिस्पर्धात्मक बनाइने प्रतिबद्धता जनाउनुभएको छ । बैंकले सन् २०१८ को अक्टोबर–डिसेम्बरबीच ४ दशमलब ४ अर्ब डलर आम्दानी हुने पूर्वानुमान गरेपनि त्यसमा केही कमी भएर ३ दशमलब ३९ अर्ब डलर भएको थियो । -रासस/एएफपी