अन्तराष्ट्रिय

बेलायतद्वारा काबुलबाट आफ्ना सबै नागरिक फिर्ता : अफगानिस्तान छाड्न थाले अमेरिकी सैनिक 

काठमाडौं । बेलायतले तोकिएको समयभित्रै अफगानिस्तानको राजधानी काबुलबाट आफ्ना सबै नागरिक स्वदेश फिर्ता गरेको छ । शनिबार काबुलबाट बेलायती सेना बोकेको अन्तिम जहाज लन्डनतर्फ उडेको थियो ।  बेलायती सेना बोकेको अन्तिम विमान उड्नुअघि काबुलबाट अफगानिस्तानका लागि बेलायती दूत स्वदेश फर्किएका थिए । यससँगै बेलायतमा अफगानिस्तानको २० वर्ष लामो सैन्य आबद्धता अन्त्य भएको छ ।  छिल्लो दुई सातामा काबुलबाट पाँच हजार सेनासँगै २२ सय बालबालिका र बेलायती सेनाका ८ हजार पूर्व कर्मचारी तथा उनका सन्तान छन् ।

गत जनवरीमा अमेरिकी सेना र तालिवानबीच कतारको दोहामा भएको शान्ति सम्झौतामा अमेरिकी नेतृत्वको विदेशी सेनाले ३१ अगस्टभित्र अफगानिस्तानबाट आफ्ना सम्पूर्ण सेना फर्काउनुपर्ने उल्लेख छ । तोकिएको समयभित्र सबै सेना फिर्ता नगरे कारबाही गरिने तालिवानले चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले दुई दिनभित्र आफ्ना सबै सेना र अफगानिस्तानमा रहेका नागरिक काबुलबाट फिर्ता गर्न तीब्र गतिमा कार्य भइरहेको बताएका छन् ।

त्यस्तै पूर्वघोषित योजना अनुसार अमेरिकी सैनिक अफगानिस्तान छाड्न थालेका छन् । तोकिएको समयसी अगस्ट ३१ नजिकिँदै जाँदा अमेरिकी सेना स्वदेश फिर्ता हुन थालेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन कर्बीले जानकारी दिए । काबुलस्थित विमानस्थलबाट आफ्ना सेना फर्किन थालिसकेको जानकारी दिएका उनले  हालसम्म के कति संख्यामा स्वदेश फर्किए भनेर बताएनन् । उनले निश्चित समयसीमा भित्र अफगानिस्तानबाट सबै सेना फिर्ता गराउने प्रयास भइरहेको बताए।

अमेरिकाले काबुलबाट  आफ्ना झण्डै एक लाख १२ हजार नागरिकको उद्धार गरेको छ । तालिबान समूहको कब्जापछि त्रासका कारण लाखौँ मानिसले अफगानिस्तान छोड्न चाहिरहेका हुन् ।  गत बिहीबार मात्र काबुलस्थित विमानस्थल नजिकै बम विस्फोट भएको थियो । त्यसको भोलिपल्ट अमेरिकाले ड्रोन आक्रमण गरेको थियो । अमेरिकी सेनाका मेजर जनरल विलियम टेलरले ड्रोन हमलामा आईएसआईएसका दुई आतंककारी मारिएको र एकजना घाइते भएको बताएा छन् ।-एजेन्सी