अन्तराष्ट्रिय

त्रिदेशीय परमाणु सम्झौताप्रति क्रुद्ध बेइजिङ भन्छ- संकुचित दिमागको उपज

काठमाडौं । चीनले अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको एतिहासिक परमाणु सम्झौताको निन्दा गर्दै त्यसले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने बताएको छ । बेइजिङले त्रिदेशीय सम्झौताको आलोचना गर्दै त्यसलाई संकुचित दिमागको उपज भनेको छ । अस्ट्रेलियालाई आणविक ऊर्जामा चल्ने पनडुब्बी निर्माण गर्न अमेरिका र बेलायतले सहयोग गर्ने सम्झौतामा उल्लेख छ । विवादित दक्षिण चीन सागरमा बेइजिङलाई टक्कर दिने रणनीतिस्वरूप अमेरिका र बेलायतले अस्ट्रेलियालाई सहयोग गरेका हुन् । सो क्षेत्र लामो समयदेखि तनावको केन्द्र बनेको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले त्रिदेशीय गठबन्धले क्षत्रीय शान्तिमा गम्भीर असर गरेको र सैन्य होड तीव्र पारेको बताएका छन् ।  तीन देश शीतयुद्धको मानसिकताबाट गुज्रिएको भन्दै उनीहरूले आफ्नै खुट्टामा आफै बन्चरो हानेको उनले आरोप लगाएका छन् । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले अस्ट्रेलिया पनि चीनको विरोधमा उत्रिएको टिप्पणी गरेको छ ।

अमेरिकाले ६० वर्षपछि दोस्रोपटक आफ्नो पनडुब्बी प्रविधि अस्ट्रेलियालाई बाँडेको हो । यसअघि उसले बेलायतलाई यस्तो प्रविधि बाँडेको थियो ।  अस्ट्रेलियाले निर्माण गर्न लागेको आणविक सम्पन्न पनडुब्बीले अन्य परम्परागत शक्तियुक्त जहाज सजिलै पत्ता लगाउनेछ । ती पनडुब्बी महिनौंसम्म पनि पानीभित्र रहन सक्छन र लामो दूरीसम्म मिसाइल प्रहार गर्न सक्छन् ।

अकस नाम दिइएको सो सम्झौतामा अमेरिकी राष्ट्रपति जोन बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बुधबार हस्ताक्षर गरेका छन् ।  इन्डो-प्यासेफिक क्षेत्रमा तीनैजना नेताहरूले सुरक्षा चासो देखाएका छन् । ‘साझेधार देशबीच साझा मूल्यको रक्षा तथा इन्डो प्यासेफिक क्षेत्रको सम्बद्र्धन गर्नु समान सोच भएका मित्रराष्ट्रका लागि एउटा एतिहासिक अवसर हो,’ तीन देशका नेताद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अकस सम्झौता दोस्रो विश्वयुद्धपछिकै सम्भवत: सबैभन्दा महत्वपूर्ण सुरक्षा सम्झौता भएको विज्ञहरूले बताएका छन् । आणविक ऊर्जाबाट पनडुब्बी सञ्चालन गर्ने अस्ट्रेलिया सातौ देश हुनेछ । सम्झौतामा कृत्रिम गुप्तचरी, क्वान्टम प्रविधि र साइवर पक्ष समेटिएको छ । अस्ट्रेलियाले लामो दूरीको तोमाहाक क्रुज मिसाइलसमेत पाउनेछ, त्यसको बदलामा अमेरिकी सेनाको समूह उत्तरी अस्ट्रेलियामा रहने छन् ।- एजेन्सी