अर्थ विविध

चमतीमा वृद्ध विश्राम भवनसहित पार्क निर्माण सम्पन्न

काठमाडौँ । चमति जग्गा एकीकरण आयोजना क्षेत्रभित्र वृद्ध विश्राम भवनसहित पार्क निर्माण सम्पन्न भएको छ । स्थानीयबासीको जग्गा योगदानबाट प्राप्त भएको १ रोपनी १४ आना जमिनमा २ तले भवनसहितको पार्क निर्माण गरिएको हो । पार्कलाई जेष्ठ नागरिकमैत्री बनाउन ठाउँ ठाउँमा देवी देवताका मूर्ति राखिएका छन् । यसरी राखिएका मूर्तिहरुमा महामञ्जुश्री, हारती माता, महादेव, बसुन्धरा देवी, बुद्ध, महाङ्काल, लुकु महाद्यः, गणेश, कुमार, लक्ष्मीनारायणलगायत छन् । यस्तै चैत्य र ४ वटा ढुङ्गेधारा पनि राखिएका छन् ।

पार्क निर्माण गर्न काठमाडौँ महानगरपालिका, चमती जग्गा एकीकरण आयोजना र स्थानीय पूर्वाधार साझेदार कार्यक्रमअन्तर्गत काठमाडौँ क्षेत्र नं. ८ का संसद जीवनराम श्रेष्ठको संसद कोषको लागत सहभागिता रहेको छ । यसका लागि चमति नेवाः खलसँगको सहकार्यमा स्थानीयले करीव ३० लाख रुपैयाँको सहभागिता जनाएका छन् । यो काठमाडौँ महानगरको वडा १५ क्षेत्रमा पर्छ ।

यस अघि आयोजना क्षेत्रका पार्क कसले निर्माण गर्ने भन्नेमा अन्यौल थियो । उद्घाटन कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘आयोजनाको काम नसकिएका कारण स्थानीयबासीले करीव २० बर्ष दुःख पाइरहेका थिए । व्यवस्थित विकासका लागि उनिहरुको यो प्रतिक्षामा हामी पनि सँगै छौँ भनेर पार्क बनाउन हामीले लगानी गरेका हौँ । पार्क निर्माणसँगै हामीले यस क्षेत्रमा भएका सबै सडक कालोपत्रे गरेका छौँ ।’

काठमाडौँ महानगरको सार्वजनिक जग्गा संरक्षण र पार्क निर्माण सम्बन्धी नीति तथा चालुृ योजनाका विषयमा कुरा गर्दै प्रमुख शाक्यले, अहिले ७० वटा भन्दा धेरै पार्कहरु निर्माण भइरहेको बताए । ‘हामीले आफ्नो भूगोलबाहिर काठमाडौँ जिल्लाका सबै नगरसँग साझेदारी कार्यक्रमअन्तर्गत सार्वजनिक जग्गा संरक्षण गरेर पार्क बनाउन सहयोग गरेका छौँ । काठमाडौँबाहिर मध्यपुर थिमीसँगलाई सघाएका छौँ । अझ यहाँबाट पनि विस्तार भएर १ प्रदेश १ भगिनी सम्बन्ध स्थापना गर्ने नीतिअनुरुप ती नगरलाई पनि पार्क बनाउने योजनामा सहयोग गरेका छौँ ।

यस अघि अन्तरराष्ट्रिय सहरसँग मात्र भगिनी सम्बन्ध स्थापना गर्ने गरिएको थियो ।’ जेष्ठ नागरिकको सहज जीवन यापनका लागि काठमाडौँमा पूर्वाधार बढाउँदै जानुपर्छ । संघीय संसद सदस्य जीवनराम श्रेष्ठले, सकिँदै गएको खुल्ला ठाउँ बचाउन आजैबाट प्रयत्न थालिनु पर्ने बताए । ‘स्थानीयको जग्गा योगदान पार्क निर्माणको सबल पक्ष हो । यसमा हामीले सघाउन पायौँ । सबैको संयुक्त प्रयासबाट एउटा देखाउन मिल्ने योजना सम्पन्न भयो ।’ संसद सदस्य श्रेष्ठको भनाइ थियो ।

चमति आयोजना सम्पन्न हुने चरणमा पुगेकोमा खुशी व्यक्त गर्दै महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले, आयोजना सञ्चालन अवधिमा स्थानीयबाट प्राप्त सहयोगको प्रशंशा गरे । पूर्वाधारको काम सकिएपछि स्थानीयको सामाजिक, आर्थिक र सांस्कृतिक जीवनका लागि काम गर्ने उनको भनाइ थियो । पार्क सामान्य अवस्थामा मनोरञ्जनका लागि र विपदका समयमा आश्रय स्थलका रुपमा प्रयोगमा आउने डंंगोलले धारणा राखेका थिए । निर्माण समितिका संरक्षक पूर्णकाजी ज्यापूले पार्क निर्माण भएपछि स्थानीय सामाजिक जीवनमा परिवर्तन आउने अपेक्षा गरे । उनकाअनुसार पार्कमा राखिएका देवीदेवताका मूर्ति स्थापनामा स्थानीयको आर्थिक योगदान छ ।