धर्म/संस्कृति

पचली भैरवको कथालाई रङ्गमञ्चमा ल्याउन काठमाडौँ महानगरको सहयोग

काठमाडौँ । पचली भैरव र भैरव जात्रासँग सम्बन्धित सामाजिक विश्वाशलाई रङ्ग मञ्चमा उतारिने भएको छ । काठमाडौँ महानगरपालिकाको कार्यक्रम सहयोगमा बज्र कला कुञ्जले कार्तिक २५ गतेदेखि टेकुको कौशी थियटरमा नाटक मञ्चन गर्दैछ । अमूर्त सम्पदासँग सम्बन्धित जनश्रुति, कथन, भनाइ, विश्वाश र आस्थालाई हेर्न, सुन्न र देख्न सक्ने माध्यमका रुपमा सांस्कृतिक नाटक प्रदर्शनका लागि अहिले अभ्यास चलिरहेको छ ।

पचली भैरवको स्थापना र १२ बर्षे जात्रा सम्बन्धी लेखिएका र भनिएका कथाको संयोजनबाट नाटक तयार पारिएको छ । किराँती राजा यलम्बर पञ्चलिङ्श्वर (बागमती विष्णुमती दोभान) मा साधना गरिरहेका बेला उनीसँग स्थानीय नेवार समुदायकी छोरी नैअजिमा (रुक्मिणी) सँगको भेटबाट नाटक सुरु हुन्छ । प्रेम विस्तारै बढ्दै जान्छ । यसपछिका पारिवारिक घटना क्रम र दैवी शक्तिका कारण उत्पन्न बाधाहरु देखाउँदै नाटकलाई निश्चित समय भेट हुने गरी वियोग गराइएको छ । यो संयोग भनेकै १२ बर्षे पचली भैरव जात्रा हो । भैरव, नैअजिमा र उनीहरुको छोरा मुसुका गणेश (रुद्रविनायक) नाटकका मुख्य पात्र हुन् । त्यहाँ दैवी शक्ति र आसुरी शक्तिविचको द्वन्द्वमा दैवी शक्तिको जीत भएको देखाइएको छ ।

महानगरको सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीका अनुसार महानगरले काठमाडौँको मौलिकतासँग जोडिएका तर विसिँदै गएका, विर्सिन सक्ने र थोरै मात्र चर्चा हुने मूर्त अमूर्त सांस्कृतिक सम्पदाको महत्व जोगाउन कार्यक्रम सहयोगअन्तर्गत नाटक मञ्चनका लागि सहयोग गरेका हौँ । नेपाल मण्डलमा पचली भैरवको उत्पत्ति र दक्षिण भेगको सुरक्षासँग सम्बन्धित प्रसङ्ग, भैरव, अष्टभैरव, अष्टमातृका, गणेश अजिमाका शास्त्रीय नाचहरु नाटकमा हेर्न पाइन्छ । नाटकका निर्देशक चन्द्रमान मुनिकार भन्नुहुन्छ, मूर्त अमूर्त सांस्कृतिक सम्पदाको सम्बन्ध देखाउँदै नेपाल मण्डलका परम्परागत चालचलन सम्बन्धी तथ्य युवालाई पुस्तान्तरण गर्नु नाटकको उद्देश्य हो । यसले सामाजिक सदभावलाई जोगाएर राख्नु पर्ने सन्देश दिनेछ ।

नाटकको कथा र प्रस्तुति फरक छ । काठमाडौँको धार्मिक आस्था र यससँग सम्बन्धित घटनाको कथालाई नाटक बनाउन पाउनुमा मैले ठूलो अवसर मिलेको महसुस गरेको छु । नाटकका सहनिर्देशक इंगिहोयो कोइच सुनुवार भन्नुहुन्छ, टेकु दोभान क्षेत्रमा सिद्ध भएका तन्त्रसाधनाका पारङ्गत व्यक्तिको प्रेमलाई सामाजिक व्यवस्थासँग घुलमिल गराएर प्रस्तुत गर्नु कठिन थियो । यो कठिन कामलाई हामीले अवसर ठानेका छौँ । नाटकमा सुदनमान मुनिकार, सृष्टिना मुनिकार, अनिसा श्रेष्ठ, सानुमैयाँ महर्जन, संगीता थापा, पवित्रा राई, सिर्जना शर्मा, युवहाङ् राई, रोशनी चौधरी, करिना सुनुवार र इंगिहोयो कोइच सुनुवारलगायत कलाकारको अभिनय छ ।

नेपाल मण्डल र यस क्षेत्रमा उत्पत्ति भएका देवी देवताको कथासँग सम्बन्धित सामाजिक एवं सांस्कृतिक चाल चलन सम्बन्धी जनश्रुति, भनाइ र कथाहरु चाख लाग्दा छन् । पचली भैरव स्थापनाको कथा पनि यसैसँग सम्बन्धित कथा हो । पचली भैरवलाई भैरवहरुमध्येका प्रमुख मानिन्छ । पञ्चलिङ्गेश्वर शव्द अपभ्रंस भएर पचली भएको मानिन्छ । ५ प्रकारका उर्जा मिलेर पञ्चलिङ्गेश्वर उत्पत्ति भएको मानिन्छ । यो बागमती र विष्णुमती नदीको संगम स्थानमा छ । कान्तिपुरको दक्षिण कोलियग्रामको सुरक्षा पचली भैरवले गरेको जनविश्वाश छ । यस भेगमा पर्ने व्रह्मटोल, चल्खु, टेकुलगायत क्षेत्रका स्थानीयले पचली भैरवको जात्रा घुमघामसँग मनाउँछन् ।