अन्तराष्ट्रिय

पश्चिमी युक्रेनमा रुसी आक्रमणमा परी अमेरिकी पत्रकार सहित ३५ जनाको मृत्यु

मस्को/कीभ । रुस-युक्रेन युद्धको आज १८ औं दिन हो । अवस्था निकै नाजुक बन्दै गएको छ । युक्रेनी प्रहरीका अनुसार रुसी सेनाले राजधानी कीभ नजिकैको इरपिन सहरमा एक अमेरिकी पत्रकारलाई गोली हानेर हत्या गरेको हो । पत्रकारको नाम ब्रेन्ट रेनाउड थियो, उनी एक पुरस्कार विजेता फिल्म निर्माता पनि थिए ।

उनले एनबीसी र न्यूयोर्क टाइम्स सहित धेरै अमेरिकी मिडिया संगठनहरूमा कार्य गरेका थिए । रेनाउडका अर्का साथी पत्रकार जुआन एरेडोन्डो घाइते भएका छन् । ५१ वर्षीय रेनाउडको घाँटीमा गोली लागेको थियो । रेनाउडबाट एक अमेरिकी राहदानी र एक प्रमाणीकृत न्यूयोर्क टाइम्स परिचय पत्र फेला परेको बताईएको छ ।

आइतवार, रुसले युक्रेनको पश्चिमी भागको लिभ शहर नजिकैको सैन्य आधार शिविरमा क्रुज मिसाइल प्रहार गरेको थियो । न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार प्रहार गरिएका मिसाइलहरूको संख्या ३० भन्दा बढी थियो । यस आक्रमणमा हालसम्म ३५ जनाको मृत्यु भइसकेको छ । ५७ जना घाइते भएका छन् ।