मेक्सिको । शुक्रबारबारका दिन मेक्सिकोको सिनालोआ राज्यमा ब्ल्याक हक सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा १४ सैनिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । एफबीआईको १० मोस्ट वान्टेड सूचीमा परेका कुख्यात ड्रग माफिया ‘राफेल कारो क्विन्टेरो’ पक्राउ परेका छन् । दुर्घटनामा परी मृत्यु भएका जवानले लागुऔषध कारोबारीलाई पक्राउ गर्न सहयोग गरिरहेका थिए ।
मेक्सिकोको नौसेनाका एक अधिकारीले भने–दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । तर हालसम्म त्यस्तो कुनै सूचना प्राप्त भएको छैन जसबाट यो घटना लागुऔषध माफियाको गिरफ्तारीसँग सम्बन्धित छ भन्न सकिन्छ ।
राफेललाई सन् १९८५ मा अमेरिकी एन्टी नर्कोटिक्स एजेन्टको हत्यामा दोषी ठहर गरिएको थियो । राफेल १९८० को दशकमा ल्याटिन अमेरिकाको सबैभन्दा शक्तिशाली लागूऔषध तस्करी संगठन गुआडालाजारा कार्टेलको सह–संस्थापकको रूपमा प्रख्यात भएका थिए । उनीमाथि मेथाम्फेटामाइन, हेरोइन, कोकिन र गाँजाको तस्करी गरेको आरोप थियो । राफेल अमेरिकी एजेन्सीहरूको सबैभन्दा ठूलो निशाना थिए । अमेरिकी एजेन्सीहरूले राफेलमा १६० करोड रुपैयाँ इनाम राखेका थिए ।
Add Comment