अन्तराष्ट्रिय

चीनको वुहान सहरमा फेरि कोरोना भाइरसको दस्तक, १० लाख जनसंख्या भएको जिल्लामा लकडाउन

बेइजिङ । चीनको वुहान सहरमा फेरि एकपटक कोरोना भाइरसले दस्तक दिएको छ । सहरको जियाङ्जिया जिल्लामा चार जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । त्यसपछि प्रशासनले सावधानीका रुपमा १० लाख मानिसलाई घरमै कैद गरेको छ । वुहान त्यही सहर हो जहाँ सन् २०१९ को अन्तिम महिनामा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको थियो । यही सहरबाट विश्वभर कोरोना भाइरसको संक्रमण फैलियो र त्यसबेलादेखि अहिलेसम्म लाखौँ मानिसको मृत्यु भइसकेको छ । वुहानको जियाङ्जिया जिल्लाका अधिकारीहरूले ९७०,००० भन्दा बढी जनसङ्ख्या भएको मुख्य सहरी क्षेत्रमा चारवटा कोरोना सङ्क्रमित फेला परेपछि आगामी तीन दिनका लागि लकडाउन गरेको बताएका छन् ।

सरकारी कथनका अनुसार बार, सिनेमाघर र इन्टरनेट क्याफेहरू जस्ता मनोरञ्जन स्थलहरू, साना क्लिनिकहरू र जियाङ्शिया जिल्लाका बजारहरू लगायत बन्द गरिएको छ । प्रदर्शन देखि अधिवेशन सम्म, रेस्टुरेन्ट भोजन र ठूलो जमघट तुरुन्तै प्रतिबन्धित छ । सबै पूजास्थलहरू बन्द गरियो र धार्मिक गतिविधिहरूमा प्रतिबन्ध लगाइएको छ । शैक्षिक संस्था र पर्यटकलाई आकर्षित गर्ने कार्यक्रम पनि बन्द गरिएको छ । यसका साथै जिल्लामा बसदेखि मेट्रो सेवासम्मका सबै सार्वजनिक यातायात ठप्प छन् । अत्यावश्यक बाहेक जिल्ला नछाड्न स्थानीयलाई आग्रह गरिएको छ ।

अधिकारीहरूले चार उच्च जोखिम क्षेत्रहरू पनि पहिचान गरेका छन् जहाँ बासिन्दाहरूलाई उनीहरूको घर छोड्न निषेध गरिनुका साथै चार स्थानलाई मध्यम जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ । यहाँका बासिन्दाहरूलाई आफ्नो समाज वा घरको परिसरबाट बाहिर निस्कन निषेध गरिएको छ । यी प्रतिबन्धहरूको उद्देश्य मानिसहरूको आवतजावतलाई थप घटाउने, संक्रमणको जोखिम कम गर्ने र छोटो समयमा शून्य कोभिडको लक्ष्य हासिल गर्ने हो, विज्ञप्तिमा भनिएको छ ।

जियाङ्जिया जिल्लामा मंगलबार अबेर राति चार जनामा कोभिड संक्रमण भेटिएको हो । घटना लगत्तै प्रशासनले पूरै जिल्लामा प्रतिबन्धको घोषणा गरेको छ । यी मध्ये दुई जना नियमित परीक्षणका क्रममा पहिचान भएका थिए भने अन्य दुई संक्रमितको सम्पर्कमा आएपछि पोजेटिभ देखिएको थियो । चीनले सुरुदेखि नै कोरोना रोकथामका लागि कडा नियम–कानून अपनाएको भए पनि देशमा कोरोनाका घटनाहरू पूर्ण रूपमा रोकिएका छैनन् ।