अन्तराष्ट्रिय

काबुलको गुरुद्वारामा एक महिनामा दोस्रो पटक आक्रमण, अफगानिस्तानका सिख र हिन्दू आतंकित

काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित कर्ता परवान गुरुद्वारा बाहिर एक महिनामा दोस्रो पटक हमला भएको छ । यसपटक गुरुद्वारा बाहिर बम विष्फोट गरेर आतंक फैलाउने प्रयास गरिएको छ । यो गुरुद्वारा विगतमा पनि पटकपटक आक्रमणको सिकार भइसकेको छ । यस विष्फोटमा हालसम्म कुनै हताहतीको खबर आएको छैन । विस्फोट गुरुद्वाराको गेट नजिकै रहेको पसलभित्र भएको बताइएको छ । यो पसल सिख समुदायका सदस्यको रहेको बताइएको छ । विष्फोटबारे तालिवानले पनि कुनै प्रतिक्रिया दिएको छैन ।

भारतीय विश्व फोरमका अध्यक्ष पुनीत सिंह चन्दोकले काबुलस्थित गुरुद्वारा कर्ता पर्वनको मुख्य गेट नजिकै विस्फोट भएको जानकारी दिए । विष्फोटमा सिख वा हिन्दू समुदायका कोही पनि हताहत भएको कुनै रिपोर्ट आएको छैन, उनले भने । यद्यपी विस्फोटको थप विवरण आउन बाँकी छ । पछिल्लो एक महिनामा यो गुरुद्वारामा भएको यो दोस्रो आक्रमण हो भनिएको छ ।

गुरुद्वारा बाहिर विष्फोट हुनुभन्दा एक दिनअघि तालिबान सरकारको विदेश मन्त्रालयको कार्यालयका महानिर्देशक मुल्ला अब्दुल वासीले अल्पसंख्यकहरूलाई देशको सुरक्षा अवस्थाबारे आश्वासन दिएका थिए । उनले हिन्दू र सिख परिषद्का सदस्यहरूसँगको बैठकमा अफगानिस्तानमा सुरक्षा पुर्नस््थापित भएको दाबी गरेका थिए । वासीले सिख र हिन्दूहरूलाई अफगानिस्तान फर्कन पनि आग्रह गरेका थिए । २०२१ मा तालिबानले अफगानिस्तानमा कब्जा गर्नु अघि, सिख र हिन्दू अल्पसंख्यकहरूको संख्या लगभग ६०० थियो, जुन अझै घटेको मानिन्छ ।

गुरुद्वारामा भएको आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि संगठनले लिएको छैन । यसअघि १८ जुनमा कर्ता पर्व गुरुद्वारामा आतंकवादी हमला भएको थियो । यस हमलामा तालिवानका सदस्यसहित करिब ५० जनाको ज्यान गएको थियो । त्यसको एक दिनपछि आईएसआईएस खोरसनले एउटा विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मेवारी लिएको थियो । आईएसआईएसले आक्रमणमा आफ्नो आतंककारी अबु मोहम्मद अल–ताजिकीको संलग्नता रहेको बताएको थियो ।