अन्तराष्ट्रिय

प्रदर्शनकारीहरू इराकको संसदमा प्रवेशः इरानी समर्थक प्रधानमन्त्री उम्मेदवारको बिरूद्ध प्रदर्शन

बगदाद । इराकमा प्रधानमन्त्रीको उम्मेदवारमा इरान समर्थक व्यक्तिलाई मनोनयन गरेको विरोधमा भएको प्रदर्शन बुधबार राति हिंसात्मक बनेको छ । हजारौं प्रदर्शनकारीले संवेदनशील ग्रीन जोन पार गरेर संसदमा ¥याली गरेका थिए । उनीहरु यहाँको पर्खाल चढेर संसदमा पनि प्रवेश गरेका थिए । सुरक्षा बलहरू यहाँ उपस्थित थिए, तर तिनीहरू पनि यी मानिसहरूलाई रोक्न असफल भएका थिए । मिडिया रिपोर्टका अनुसार प्रदर्शनकारीहरूको नेता मौलवी मुक्तदा सदर हुन् । उनी मूल रूपमा शिया हुन् ।

‘स्काई न्युज’को रिपोर्टका अनुसार सुरक्षा बलको सबैभन्दा ठूलो चिन्ताको विषय भनेको ग्रीन जोनमा संसदबाहेक सबै देशका दूतावासहरू छन् । यहाँ गोप्य मिसनका कार्यालयहरू पनि छन् । आन्दोलनकारी यहाँ पुगे प्रहरी र सेनाका अगाडि गोली चलाउनुबाहेक अर्को विकल्प रहँदैन । यसले ठूलो क्षति निम्त्याउन सक्छ । इराकमा अक्टोबरमा चुनाव भएको थियो । त्यसयता इराकको राजनीतिक अवस्था बिग्रिएको छ ।

रिपोर्टका अनुसार गठबन्धन सरकारले मोहम्मद अल सुदानीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ । उनलाई इरान समर्थक मानिन्छ । देशका धर्मगुरु र उनीहरूका समर्थकहरूले यसको विरोध गरिरहेका छन् । बुधबारको घटना यसैको अर्को चित्र हो । कार्यवाहक प्रधानमन्त्री मुस्तफा अल काधिमीले आन्दोलनकारीलाई जारी गरेको सन्देशमा भनेका छन्–हामी शान्तिपूर्वक वार्ता गर्न सक्छौँ । तपाईं ग्रीन जोनबाट बाहिर जानुहोस् । यो देशको लागि खतरा बन्न सक्छ । आन्दोलनकारीका नेता मौलवी मुक्तदा अल–सद्र हुन् । केही दिनअघि उनले राजनीतिबाट अलग हुने घोषणा गरेका थिए । २०१६ मा पनि उनका समर्थकहरु यो ग्रीन जोनमा गएका थिए ।