अन्तराष्ट्रिय

बंगलादेशमा इन्धन मूल्य ५१.७ प्रतिशतले वृद्धिः मुल्य वृद्धिको विरोधमा तोडफोड र आगजनी

नयाँ दिल्ली । मुद्रास्फीतिका कारण श्रीलंकाको अवस्था पछि बंगलादेशको अवस्था पनि बिग्रँदै गएको देखिन्छ । बंगलादेशमा आम जनता मुद्रास्फीतिबाट पीडित छन् । यस्तो अवस्थामा गत साउन २० गते राति पेट्रोलमा ५१ दशमलव ७ प्रतिशत र डिजेलको मूल्य ४२ प्रतिशतले बढाएर त्यहाँको सरकारले सर्वसाधारणलाई अर्को झट्का दिएको छ ।

यस विषयमा बंगलादेशमा हंगामा मच्चिएको छ । विभिन्न ठाउँमा आगजनी भएको र मानिसहरु सडकमा उत्रिएका खबरहरु आइरहेका छन् । सोही क्रममा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गरेको थियो । जसका कारण जनताको आक्रोश झनै बढेको छ । उता, बढेको मूल्य लागू हुनुअघि नै पेट्रोल पम्पमा सवारीसाधन लिएर सर्वसाधारणको भीड लागेको छ । यसैबीच पेट्रोल पम्प सञ्चालकले बढेको तेलको मूल्य लागू भएपछि बिक्री गर्ने बताउँदै जनतालाई तेल दिन अस्वीकार गरेका छन् । त्यसपछि जनताको आक्रोश सातौं आकाशमा पुग्यो र प्रदर्शन सुरु भयो ।

दिउँसो १२ बजेदेखि लागू भएको नयाँ मूल्य अनुसार बंगलादेशमा एक लिटर पेट्रोलको मूल्य १ सय ३० रुपैयाँ रहेको छ । गएरातिदेखि ४४ रुपैयाँ अर्थात ५१.१ प्रतिशतले बढेको छ । बंगलादेशको ऊर्जा तथा खनिज स्रोत मन्त्रालयले मूल्य बृद्धिको सन्दर्भमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेका कारण मूल्यवृद्धि गर्ने निर्णय गरेको जनाएको छ ।

बंगलादेश पेट्रोलियम कर्पोरेसन (बीपीसी) ले यस वर्षको फेब्रअरीदेखि जुलाईसम्ममा सस्तो मूल्यमा इन्धन बिक्री गर्दा ८१४.५१ रुपैयाँ घाटा बेहोरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको प्रेस विज्ञप्तिमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि भारतलगायत धेरै देशले यस्तो निर्णय गरिसकेका जनाइएको छ ।

बंगलादेशले आफ्नो विदेशी मुद्रा सञ्चिति बढाउने प्रयास गरिरहेको छ । बंगलादेशको ४१६ बिलियन डलरको अर्थतन्त्र धेरै वर्षदेखि विश्वमा सबभन्दा द्रुत बृद्धि हुने अर्थतन्त्र भएको छ, तर रुसो–युक्रेन युद्धका कारण बढ्दो ऊर्जा र खाद्यान्नको मूल्यले यसको आयात बिल र चालु खाताको घाटा बढाएको छ ।