अन्तराष्ट्रिय

भेन्टिलेटरमा रहेका सलमान रुस्दीको एउटा आँखा गुम्ने खतरा, १५ पटक छुरा प्रहार

नयाँ दिल्ली । अगस्ट १२ मा बुकर पुरस्कार विजेता र सैटानिक भर्सेसका लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्यूयोर्कमा आक्रमण भएको थियो । सलमान रुस्दीलाई विगत केही वर्षदेखि ज्यान मार्ने धम्की आइरहेको थियो । ७५ वर्षीय रुस्दी पश्चिमी न्यूयोर्कमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा उनीमाथि आक्रमण भएको थियो ।

रुस्दीका अङ्गरक्षक एन्ड्रयु वाइलीले सलमान रुस्दी शुक्रबार साँझ भेन्टिलेटरमा रहेको बताए । आक्रमणका कारण उनको कलेजोमा क्षति पुगेको थियो । साथै उनको एउटा आँखा गुम्ने खतरा हुनसक्ने बताएका छन् । स्थानीय प्रहरीका अनुसार सलमान रुस्दीको घाँटीमा छुरा प्रहार गरिएको थियो । आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले आक्रमणकारी हादी मतार रहेको जनाएको छ ।

आक्रमणकारीले किन आक्रमण गरेको भन्ने कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । साथै आक्रमणको कारण पत्ता लगाउन एफबीआईको पनि सहयोग लिइएको छ । भारतीय समाचार इन्डियन एक्सप्रेसले एसोसिएटेड प्रेस रिपोर्टरले चौताउवा इन्स्टिच्युटको स्टेजमा रुस्दीलाई आक्रमणकारीले आक्रमण गरेको देखेको लेखेको छ । रिपोर्टरका अनुसार आक्रमणकारीले रुस्दीलाई १० देखि १५ पटक छुरा प्रहार गरेपछि उनी भुइँमा खसेका थिए ।

१९८८मा, रुस्दीको द सैटानिक भर्सेस उपन्यासलाई मुस्लिमहरूले ईश्वरनिन्दाको रूपमा हेरेका थिए । मुस्लिम समुदायको आरोप छ कि यसले पैगम्बर मुहम्मदको अपमानको रूपमा चित्रण गरेको छ । त्यसबेला विश्वभर रुस्दीविरुद्ध हिंसात्मक प्रदर्शन भएको थियो । पुस्तकलाई लिएर भएको दंगामा कम्तिमा ४५ जनाको मृत्यु भएको थियो । जसमा रुस्दीको गृहनगर मुम्बईका १२ जना पनि थिए ।

१४ फेब्रुअरी १९८९ मा, इरानका धार्मिक नेता अयातोल्लाह खोमेनीले इस्लामको अपमान गरेको भन्दै सलमान रुस्दीमाथि फतवा जारी गरेका थिए । जसमा उनीमाथि ३ मिलियन डलरभन्दा बढीको इनाम राखिएको थियो । त्यसपछि रुस्दी अर्को नौ वर्षसम्म ठाउँ–ठाउँमा लुकेर बसे । फतवा जारी भएपछि रुस्दीले धेरै धम्कीको सामना गर्नुपरेको थियो ।

द सैटानिक भर्सेस प्रकाशित भएको नौ दिनपछि तत्कालीन राजीव गान्धी सरकारले भारतमा धार्मिक भावनामा चोट पु¥याएको भन्दै पुस्तकमाथि प्रतिबन्ध लगाएको थियो । संयोगवश, पुस्तकमाथि प्रतिबन्ध लगाउने पहिलो देश भारत थियो । तर, रुस्दीले उक्त पुस्तकलाई भारतमा प्रतिबन्ध लगाउँदा भारतमा यसको कुनै प्रति उपलब्ध नभएको बताए । यसबाहेक बंगलादेश, दक्षिण अफ्रिका, सुडान, केन्यालगायत धेरै देशमा यो पुस्तक प्रतिबन्धित छ ।

रुस्दी भारतीय मूलका ब्रिटिश अमेरिकी लेखक हुन् । मुम्बईमा जन्मेका सलमान रुस्दी विगत २० वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । उनी धेरै महत्त्वपूर्ण पुरस्कारबाट सम्मानित भएका छन् । सन् १९८० को दशकमा उनको लेखनका कारण उनलाई इरानबाट ज्यान मार्ने धम्की आएको थियो । इरानले रुस्दीको हत्या गर्ने व्यक्तिलाई ३० लाख डलरभन्दा बढी पुरस्कार दिने घोषणा गरेको थियो ।