मुख्य समाचार

अनुसन्धान निर्देशक (एआईजी) मा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच दलीय भागबन्डा

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) मा दलीय भागबन्डा पुर्याएर बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले देशको अनुसन्धान विभागमा दरबन्दी थपेर एआईजी बढुवा गरेको हो ।

सरकारको यो निर्णयसँगै गत ३ साउनबाट एक एआईजी रिक्त रहेको गुप्तचरले बढुवामा भागबन्डा नमिलेपछि अर्को एक एआईजी दरबन्दी थप पाएको छ । जसअनुसार डीआईजीद्वय हुतराज थापा र ओम जोशी एआईजीमा बढुवा हुनुभएको छ ।

एआईजी बढुवामा सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भागबन्डा भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीलाई र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले थापालाई एआईजी बनाउनु भएको छ ।

अर्थ मन्त्रालयले प्रधानमन्त्री कार्यालयको दरबन्दी थप्ने प्रस्तावलाई बुधबार मात्र सहमति दिएको थियो । गुप्तचरमा एआईजी दरबन्दी थप्न रातारात ओएनएम गरिएको थियो । हालका गुप्तचर प्रमुख यदुलाल खरेलले आगामी २३ भदौपछि अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ ।

त्यसपछि थापा र जोशीमध्ये एक प्रमुख बन्ने निश्चित छ । थापा हाल राअविको राजधानी प्रमुख र जोशी मधेस प्रदेश कमान्ड गरिरहनुभएको छ । हालकै व्यवस्था कायम रहे अहिले १ नम्बरमा बढुवा भएका थापा नै गुप्तचर प्रमुख नियुक्त हुनुहुनेछ ।
यसअघि, सरकारले ६ दिनका लागि मुख्य अनुसन्धान निर्देशक पदमा कुलदेव थापालाई बढुवा गरेको थियो । उहाँले अवकाश पाएपछि एउटा दरबन्दी खाली थियो । यसमा एक दरबन्दी फेरि थपेर दुई जनालाई बढुवा गरिएको हो ।