मनिला, फिलिपिन्स । फिलिपिन्समा आँधीका कारण आएको बाढी र पहिरोमा परी ३१ जनाको मृत्यु भएको छ । सात जना बेपत्ता रहेको पनि बताइएको छ । ठूलो संख्यामा मानिसहरु घाइते भएका छन् । यो प्रकोपले दक्षिणी फिलिपिन्समा त्यहाँका मानिसहरूको जिवनस्तरलाई तहसनहस बनाएको छ । दक्षिणी फिलिपिन्सको कोटाबाटो सहरमा बाढी र पहिरोले ठूलो क्षति पु¥याएको स्थानीय अधिकारीहरूले बताएका छन् । तीन लाख जनसंख्या भएको यस क्षेत्रमा प्राकृतिक प्रकोपका कारण जनजीवन कष्टकर बनेको छ । राहत र उद्धार कार्य तीव्र गतिमा भइरहेको छ तर धेरै मानिस अझै पनि घरको छानामा फसेका छन् ।
कोटाबाटोका सिभिल डिफेन्स प्रमुख नागुइब सिनारिम्बोले मिन्डानाओ टापु नजिकैको सहरको इलाकाबाट ३१ जनाको शव फेला पारिएको मिडियालाई बताएका छन् । सिनारिम्बोले हिजोको आँधीपछि अवस्था बिग्रिएको बताए । मानिसको घरघरमा पानी पसेको छ । धेरै घरहरु डुबानमा परेका छन् । राहत उद्धार टोली रबरको डुङ्गाबाट मानिसलाई सुरक्षित स्थानमा पु¥याउने काममा जुटेका छन् । बाढीका कारण धेरै ठाउँमा पहिरो पनि परेको छ ।
फिलिपिन्सको मनिलास्थित मौसम विभागले नलगाई आँधीका कारण बाढी र पहिरो आएको जनाएको छ । कोटाबाटोमा अक्टोबर २७ देखि भारी वर्षा भइरहेको छ । मौसम विभागले आँधीको प्रभाव फिलिपिन्सका अन्य सहरहरूमा पनि देख्न सक्ने जनाएको छ । कोटाबाटो र आसपासका क्षेत्रमा एक–दुई दिनपछि मात्रै सुधारको सम्भावना रहेको उनको भनाइ छ । सावधानीका रूपमा बाढी वा पहिरोको सम्भावित क्षेत्रबाट पनि मानिसहरूलाई सुरषित स्थान तर्फ सार्ने कार्य तिब्र रुपमा गरिँदैछ । फिलिपिन्स सरकारसँगै स्थानीय संघसंस्था र जनता पनि एक अर्कालाई सहयोग गर्न लागेका छन् । फिलिपिन्सले हरेक वर्ष औसत २० वटा आँधी र चक्रवातको सामना गर्छ । हरेक वर्ष यो देशका सयौंले ज्यान गुमाउनु परेको छ । यो विपद्को चपेटामा घर, खेत, सडकदेखि पुलसम्म ध्वस्त हुन्छ ।
Add Comment