अन्तराष्ट्रिय

इमरान खानमाथि गोली प्रहारः लङ्ग मार्चमा आक्रमण, एकको मृत्यु सांसदसहित १४ घाइते

गुजरनवाला । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको इस्लामावाद मार्चमा बिहीबार एक व्यक्तिले गोली चलाएको छ । यसमा एक जनाको मृत्यु भएको छ भने इमरानको पार्टी पीटीआई सांसद फैसल जावेद सहित १४ समर्थक घाइते भएका छन् । जियो न्यूजको रिपोर्ट अनुसार आक्रमणकारीको निशाना इमरान खान थिए । घटनाका क्रममा इमरानले कन्टेनरमा केही व्यक्तिको बीचमा उभिएर समर्थकलाई अभिवादन गरिरहेका थिए । त्यसपछि आक्रमणकारीले इमरानलाई एके–४७ ले गोली हानेपछि उनी त्यही भुइँमा खसेका थिए । इमरानको दाहिने खुट्टामा गोली लागेको छ । घाइते इमरानको उपचार भइरहेको र अवस्था स्थिर रहेको बताईएको छ ।

डन न्यूजका अनुसार इमरानको लङ्ग मार्च पञ्जाबको वजिराबाद क्षेत्रमा पुगेको थियो । जसमा इमरान उपस्थित थिए । उनको नजिकै गोली चलेको थियो । पीटीआई नेता इमरान इस्माइलले इमरान खानको खुट्टामा तीनदेखि चार पटक गोली लागेको बताए । आक्रमण हुँदा उनी इमरानको छेउमा थिए । उनले भने कि आक्रमणकारीले एके–४७ बाट गोली चलाएको थियो र कन्टेनरको धेरै नजिक थियो । लङ्ग मार्चमा इमरान खानमाथि गोली प्रहार गर्ने व्यक्तिको पहिलो बयान सार्वजनिक भएको छ । उनले जुलुसमा गोली चलाउनुको कारण बताए । उनले भने– उनी एक्लै आक्रमण गर्न आएका थिए । उनी इमरानलाई मार्न चाहन्थे किनभने खानको लङ्ग मार्चमा अजानको बेला पनि डेक (डीजे) बजिरहेको थियो । यसबारे प्रहरीले अहिलेसम्म आधिकारिक जानकारी दिएको छैन । केही रिपोर्टमा उनको नाम फैसल र केहीमा जावेद इकबालको रूपमा उल्लेख गरिएको छ ।

लङ्ग मार्चमा गोली लागेर घाइते भएका इमरान खानले अस्पताल जानुअघि आफ्ना समर्थकहरूलाई हात हल्लाएर धन्यबाद भनेका थिए । त्यसपछि उनलाई सुरक्षाकर्मी र समर्थकको घेराबन्दीमा अस्पताल पठाइएको थियो । इमरानको खुट्टामा गोली लागेको छ । हाल उनको अवस्था खतरामुक्त रहेको बताइएको छ । आक्रमणपछि इमरान खानको पहिलो प्रतिक्रिया पनि आएको छ । इमरानले आफूलाई अल्लाहले नयाँ जीवन दिएको बताएका छन् । इन्शाअल्लाह हामी फेरि फर्कनेछौं र हाम्रो लडाई जारी राख्नेछौं ।