Home » Sample Page » राजा चार्ल्स–तेस्रो माथि अण्डा प्रहारः सन् १९८६ मा महारानी एलिजाबेथसँग पनि यस्तो घटना भएको थियो
अन्तराष्ट्रिय

राजा चार्ल्स–तेस्रो माथि अण्डा प्रहारः सन् १९८६ मा महारानी एलिजाबेथसँग पनि यस्तो घटना भएको थियो

योर्कशायर । योर्कशायरमा बेलायतका राजा चार्ल्स तेस्रो मा अण्डा प्रहार भएको छ । यस कार्यमा संलग्न २३ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । राजा र रानी कन्सोर्ट क्यामिला एक कार्यक्रममा भाग लिन दुई दिने भ्रमणमा उत्तर इङ्गल्याण्डको योर्कशायर आइपुगेका थिए । त्याहाँ आन्दोलन गरिरहेका एक युवाले उनीहरुमाथि अण्डाले प्रहार गरेका थिए ।

एक प्रहरी अधिकारी अनुसार– राजा र रानी Micklegate Bar (योर्कशायरको परम्परागत शाही प्रवेशद्वार) मा मानिसहरूसँग कुरा गर्दै थिए । राजालाई स्वागत गर्न मानिसहरू ’भगवानले राजा बचाऊ’ भन्दै नारा लगाइरहेका बेला एक व्यक्तिले उनीहरूमाथि अण्डा प्रहार गरेका थिए । अण्डा प्रहार गर्ने व्यक्ति यो देश दासको रगतले बनेको हो कराउँदै थिए । हामीले उनलाई पक्राउ गरेका छौं ।

पक्राउपछि ती व्यक्तिले भने– म दासता, उपनिवेशवाद र साम्राज्यवाद पीडितको साथमा छु । यी अण्डाहरू न्यायको उपायको रूपमा फ्याँकिएको हो । त्यो मानिस (राजा चार्ल्स) लाई राजा बनाउन ज्यान गुमाएकाहरूलाई न्याय हो । यो जनताले देख्न सक्ने न्याय हो । अण्डा फ्याँक्नेको छेउमा केही मानिस ब्यानर बोकेर उभिएका थिए । ब्यानरमा लेखिएको थियो– मेरो राजा होइन, मेरो राजा होइन ।

डेली मेलको रिपोर्ट अनुसार अण्डा प्रहर गर्ने व्यक्तिको नाम प्याट्रिक थेलवेल हो । सामाजिक सञ्जालमा रहेको उनको प्रोफाइल अनुसार उनी वामपन्थी कार्यकर्ता हुन् र स्थानीय चुनावमा ग्रीन पार्टीको उम्मेदवार बनेका थिए । प्याट्रिक युनिभर्सिटी अफ योर्क गार्डनिङ सोसाइटीका अध्यक्ष पनि भइसकेका छन् । उनले ब्लगमा जलवायु परिवर्तनका बारेमा लेखिरहन्छन् ।

शाही परिवारका सदस्यमाथि अण्डा प्रहार भएको यो पहिलो पटक भने होइन । सन् १९८६ मा महारानी एलिजाबेथमाथि पनि अण्डा प्रहार गरिएको थियो । उनी श्रीमान् प्रिन्स फिलिपसँग न्यूजिल्याण्ड भ्रमणमा गएकी थिइन् । त्यही क्रममा दुवै जना खुला गाडीमा मानिसहरुका बीचबाट गुज्रिरहेका थिए । त्यसपछि दुई महिलाले उनीमाथि अण्डा प्रहार गरेका थिए । प्रहरीले दुवै महिलालाई पक्राउ गरेको थियो ।
२००१ मा प्रिन्स चार्ल्स लाटभिया को भ्रमण मा थिए । त्यही क्रममा १६ वर्षीया किशोरीले उनलाई थप्पड हानेकी थिइन् । यद्यपि केटीको हातमा फूल थियो । यति मात्र होइन, युवतीले बेलायतलाई विश्वको शत्रु समेत भनेकी थिइन् । युवतीले अफगानिस्तान युद्धको विरोधमा राजकुमार चार्ल्सलाई थप्पड हानेको प्रहरीलाई बताएकी थिइन् ।