विविध

महानगरकी उपप्रमुखको अध्यक्षतामा महिला हिंसा विरुद्धको १६ दिने अभियानको तयारी बैठक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा आज महिला हिंसा विरुद्धको १६ दिने अभियानको तयारी बैठक बसेको छ । सामाजिक विकास विभागले आयोजना गरेको बैठकमा लैङ्गिक हिंसा निवारण सञ्जाल काठमाडौँसँग आवद्ध संघ संस्थाका प्रतिनिधि सहभागी भएका थिए । बैठकमा उपप्रमुख ंडंगोलले भनिन, ‘अभियान चलाइरहेका व्यक्तिहरु यसका लक्षित सहभागी हुनुहुँदैन । अभियानको विषय थाहा नहुनेहरुलाई कार्यक्रममा सहभागी गराउनुपर्छ । सीमित र बुझेका व्यक्तिभन्दा बाहिर ल्याएर सबैको जानकारीमा पुग्ने कार्यक्रम गर्नुपर्छ ।’ यस बर्षको कस्तो कार्यक्रम गर्ने सन्दर्भमा कुरा गर्दै उनले, विगतमा गरिएका राम्रा र प्रभाव देखिएका कार्यक्रमलाई निरन्तरता दिँदै जनसाधारणको पहुँचमा दिवसको अर्थ बुझाउने खालका कार्यक्रम तर्जुमा गर्न आग्रह गरिन । ‘सामाजिक विकास विभागको संयोजनमा महानगरले नेतृत्व गर्ने र सरोकारवाला सबै सहभागी हुन सक्ने कार्यक्रम बनाउनु पर्छ ।’ उपप्रमुख डगोलको भनाइ छ ।

महानगरलाई प्राप्त न्यायिक निरुपणका अधिकारले मेलमिलापका लागि प्रोत्साहन गर्नुपर्छ । कतिपय अवस्थामा मेलमिलाप गराउँदा पीडितमाथि थप पीडा हुन सक्ने संवेदनशीलतालाई विचार गरेर काम गर्नुपर्छ । उपप्रमुख डंगोलले वडा महिला सञ्जाल गठन र यसको प्रभावकारिताका बारेमा कुरा गर्दै, घटना र अवस्थाको प्रकृतिअनुसार कतिपय उजुरी तथा मुद्दा प्रहरीमा लैजानु पर्ने बताइन् ।

काठमाडौँ महानगरपालिकाले लिङ्गका आधारमा हुने हिंसा नियमनका लागि लैङ्गिक हिंसा निवारण कोष, २०७८, मानव वेचविखन तथा ओसारपसार कार्यविधि २०७८, महिला सञ्जाल गठन तथा सञ्चालन कार्यविधि २०७९ लगायत कानुन जारी गरिसकेको छ । सामाजिक विकास विभागका प्रमुख दिपक अधिकारीले भने, ‘वडावडामा निगरानी समूह बनाएका छौँ । यी संयन्त्रको एकीकृत परिणाम आउने गरी काम गर्नुपर्ने अहिलेको आवश्यकता हो ।’ उनकाअनुसार अहिले काठमाडौँ महानगरपालिकामा ४ हजार ६१ वटा राष्ट्रिय अन्तरराष्ट्रिय गैरसरकारी संघ संस्थाहरु नविकरण भएका छन् । करिव २ हजार ५ सय संघ संस्था नविकरण हुन बाँकी छन् । यी सामाजिक संघ संस्थाहरुले सामाजिक रुपान्तरणका लागि गैरनाफामुलक काम गर्ने लक्ष्य राखेका छन् ।

आर्थिक, सामाजिक र राजनीतिक परिवेशअनुसार हिंसाका घटना फरक हुन सक्छन् । हिंसामा महिला मात्र छन् भन्ने अवस्था छैन । यसमा पुरुष र यौनिक अल्पसंख्यक पनि छन् । हिँसाका प्रकृति परिवर्तित छन् । अहिले इन्टरनेटमा आधारित हिंसाका घटना पनि धेरै छन् । यी तथ्यलाई हेरेर अभियानका कार्यक्रम तर्जुनमा गर्नुपर्ने संघ संस्थाका प्रतिनिधिहरुको सुझाव छ ।
बैठकमा विद्यालय उमेरका बालबालिकाहरुलाई लिङ्गका आधारमा हुने हिंसा, यौनजन्य हिंसा तथा इन्टरनेटका आधारित हिंसाका बारेमा ज्ञान दिनु पर्ने, वचावटको सीप सिकाउनु पर्ने आवश्यकता देखाइएको छ । महिला, पुरुष वा तेस्रो लिङ्गी भएकै कारण भेदभाव, अपमान, दुव्र्यवहार, शारीरिक, मानसिक, भावनात्मक वा यौनजन्य पीडा सबै हिंसा हुृन् । कानुनले यी सबै प्रकारका गतिबिधिलाई अपराध मानेको छ ।
नेपालमा बोक्सीको आरोप, महिनावारी र सुत्केरी सम्बन्धि मूल्य मान्यता, गाली, बेइज्जती, छुवाछुत, दाइजो, लिङ्ग पहिचानबाट गरिने भ्रुण हत्याजस्ता हिंसा धेरै हुने गरेको तथ्याङ्कले देखाउँछ । यसप्रकारका अपराध हुन नदिन नेपालको संविधानले बिभिन्न अधिकारको व्यवस्था गरेको छ । महिलाको हक, शोषण विरुद्धको हक, छुवाछुत र भेदभाव विरुद्धको हक, समानताको हक, न्याय सम्बन्धि हक, अपराध पीडितको हक, बालबालिकाको हकलाई मुख्य रुपमा लिन सकिन्छ ।

सन् १९९१ देखि हरेक बर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म बिभिन्न कार्यक्रमका साथ महिला हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन हुँदै आएको छ । लिङ्गका आधारमा हुने सबै प्रकारका हिंसा र अपराध हटाएर समानतामा आधारित समाज निर्माण गर्नु यस अभियानको मुख्य लक्ष्य हो । यो बर्ष ‘सभ्य समाजको पहिचान, लंैङ्गिक हिंसाविरुद्धको अभियान’ नारासहित मंसिर ९ गतेदेखि २४ गतेसम्म विभिन्न कार्यक्रमसहित अभियानका कार्यक्रम सञ्चालन गरिँदैछन् ।