मनोरञ्जन

भारतले न्युजिल्यान्डलाई ६५ रनले हरायो:  दीपक हुडाले १० रनमा ४ विकेट, सूर्याले गरे टी–२० मा दोस्रो शतक

ओभल, न्यूजिल्याण्ड । माउन्ट माउन्गानुईस्थित ओभल मैदानमा भएको दोस्रो टी–२० खेलमा भारतले किवी टोलीलाई ६५ रनले पराजित गरेको छ । योसँगै भारतले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको थियो । सूर्यकुमार यादवले आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको दोस्रो शतक प्रहार गरेका छन् । उनले ५१ बलमा १११ रनको अविजित इनिङ खेले । सूर्यले यस वर्षको सुरुमा इंग्ल्याण्डविरुद्ध शतक प्रहार गरेका थिए । उनीबाहेक इशान किशनले सर्वाधिक ३६ रन बनाए ।

जवाफमा न्युजिल्यान्ड १२६ रनमा अलआउट भयो । दिपक हुड्डाले सर्वाधिक ४, युजवेन्द्र चहल र मोहम्मद सिराजले २–२ विकेट लिए । न्यूजिल्याण्डका लागि कप्तान विलियम्सनले ५२ बलमा ६१ रन बनाए । भारतीय इनिङ्सको अन्तिम ओभरमा टिम साउथीले हार्दिक पाण्ड्या, दीपक हुडा र वासिङ्टन सुन्दरलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए । उनको टी–२० करियरको यो दोस्रो ह्याट्रिक हो । यसअघि उनले पाकिस्तानविरुद्ध यो कीर्तिमान गरेका थिए ।

टीम ईण्डियाको ओपनर फेरि फ्लप
विश्वकपमा खराब ओपनिङ ब्याटिङका कारण आलोचनाको सामना गरिरहेको भारतीय टोली दोस्रो खेलमा फेरि निराशाजनक देखिएको छ । यस खेलमा टीम इन्डियाले ऋषभ पन्त र इशान किशनलाई ओपनिङका लागि पठाए तर दुवैले खास केही गर्न सकेनन् । पन्त १३ बलमा ६ रन बनाएर लोकी फर्गुसनले आउट भएका थिए । सोही क्रममा इशानले ३१ बल खेले तर उनको ब्याटबाट ३६ रन मात्र निस्के ।