अन्तराष्ट्रिय

युक्रेनमा एक करोड घर बिजुलीविहीनः २० डिग्री तापक्रममा ३० लाख मानिस घर छोड्न बाध्य

कीभ । रुस विरुद्धको युद्धको बीचमा लाखौं युक्रेनीहरूले पनि यस वर्ष कडा चिसोको चुनौती सामना गर्नेछन् । २७१ दिनदेखि जारी युद्धको बीचमा डब्ल्यूएचओले चेतावनी दिएको छ । यसमा युक्रेनमा जारी उर्जा संकटका कारण यहाँ चिसोका कारण लाखौंको ज्यान जोखिममा रहेको बताइएको छ ।

वास्तवमा हालैका हप्ताहरूमा रूसले युक्रेनका धेरै ऊर्जा केन्द्रहरू ध्वस्त पारेको छ । जसका कारण घरघरमा बिजुली र अन्य ऊर्जा स्रोतको चरम अभाव भएको छ । विश्व स्वास्थ्य संगठनका क्षेत्रीय निर्देशक हान्स–हेनरी क्लुगले युक्रेनका आधाभन्दा बढी पावर स्टेशनहरू नराम्ररी क्षतिग्रस्त भएको बताएका छन् । कतिपय पूर्ण रुपमा ध्वस्त भएका छन् । यसले जनताको स्वास्थ्यमा गहिरो प्रभाव पारेको छ ।

कीभमा भएको पत्रकार सम्मेलनमा क्लुगले हाल कीभका १० लाख मानिस बिजुलीविहीन जीवन बिताउन बाध्य छन् भने ३० लाख मानिस चिसोबाट बच्न आफ्नो घर छोड्न बाध्य भएको बताए । युक्रेनमा चिसो घातक हुन सक्छ । एक अनुमान अनुसार यो वर्ष धेरै क्षेत्रको तापक्रम माइनस २० डिग्रीभन्दा तल झर्ने सम्भावना छ । बिजुलीविना यसको सामना गर्न असम्भव छ ।

युक्रेन युद्धमा ऊर्जा केन्द्रहरूको लगातार विनाशका कारण जनतामा तनाव बढ्दै गएको छ । विद्युत् अवरुद्ध हुँदा जनता मर्कामा परेका छन् । डब्ल्यूएचओका अनुसार युक्रेनका मानिसहरूलाई जाडोमा धेरै प्रकारको संक्रमणको जोखिम हुन सक्छ, जुन अस्पतालको अभावले झन् गम्भीर बन्नेछ । कोरोनाका कारण निमोनिया र श्वासप्रश्वाससम्बन्धी गम्भीर रोगले गम्भीर रूप लिन सक्छ । रुसले फेब्रअरीदेखि युक्रेनका १०० भन्दा बढी स्वास्थ्य केन्द्रहरू ध्वस्त पारेको एक तथ्याङ्कले दाबी गरेको छ । जसका कारण जनताले स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।