अन्तराष्ट्रिय

कम्बोडिया क्यासिनोमा आगलागी, हालसम्म २५ जनाको मृत्युः ७०० जनाको उद्धार

पोइपेट, कम्बोडिया । कम्बोडियाको एक क्यासिनोमा बिहीबार भीषण आगलागी हुँदा अहिलेसम्म २५ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार केही शवहरू सिँढीहरू मुनि र कोठाहरूबाट बाहिर निकालिएका छन् । करिब २२ घण्टादेखि उद्धार कार्य जारी रहेको छ । अझै शव भेटिने सम्भावना छ ।

स्थानीय प्रशासनका अनुसार आगो यति भीषण थियो कि मानिसहरु छतबाट हाम फाल्न थालेका थिए । जसका कारण २ जनाको मृत्यु भएको छ भने ४–५ जनाको खुट्टा भाँचिएको छ । पोइपेटको ग्राण्ड डायमण्ड सिटी होटलको क्यासिनोमा राति ११ः३० बजे आगलागी भएको हो । यो थाइल्याण्डको सीमा क्षेत्र हो । दुर्घटना हुँदा त्यहाँ करिब चार सय मानिस उपस्थित थिए ।

यस दुर्घटनामा करिब ७० जना घाइते भएका छन् । आगलागी के कारणले भएको हो थाहा हुन सकेको छैन । प्रशासन यसको अनुसन्धानमा जुटेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार यस होटलमा धेरै मानिस थाइल्याण्डका थिए । उद्धार टोलीले घटनास्थलमा ७ सय जनाको उद्धार गरेको थियो । समाचार एजेन्सी एएफपीका अनुसार घाइतेमध्ये केहीलाई थाइल्याण्डको साको को प्रान्तको अस्पतालमा पठाइएको छ ।
अधिकारीहरूले भने अनुसार होटलले प्रशासन कोठा र लिफ्टको लागि विद्युतीय प्रणाली प्रयोग गर्दछ ।

भवनमा आगलागी हुँदा विद्युत् सर्ट भएर प्रणालीले काम गर्न छाडेको थियो । जसका कारण मानिसहरु आ–आफ्ना कोठामा थुनिए र आगोमा जलेका थिए । उद्धार टोलीले कोठामा ७ जनाको शव फेला पारेको छ ।