अन्तराष्ट्रिय

नयाँ वर्षमा पुटिनको युद्ध जित्ने घोषणाः युक्रेनको जवाफ– आफ्नै जनतालाई नष्ट गर्यो

मस्को । नयाँ वर्षको दिन पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच शब्दयुद्ध भएको थियो । दुवैले नयाँ वर्षको अवसरमा आफ्नो देशलाई सम्बोधन गरेका छन् । ९ मिनेट लामो सम्बोधनमा पुटिनले हाम्रो सेना आफ्नो मातृभूमि, सत्य र न्यायका लागि लडिरहेको बताएका छन् । हामी युद्ध जित्नेछौं, रूसको लागि, हाम्रो परिवारको लागि । यसै क्रममा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि बदला लिने भिडियो सन्देश जारी गरेका छन् । यसमा जेलेन्स्कीले रुसका जनतालाई पुटिनले उनीहरुलाई नष्ट गरिरहेको बताएका छन् । पुटिनले आफ्ना सिपाहीहरूलाई अगुवाइ गर्दैन तर तिनीहरूको पछाडि लुकेको छ ।

पुटिनको भाषण रुसी सरकारी टेलिभिजनले राष्ट्रव्यापी रूपमा देखाएको थियो । जसमा उनी सिपाहीहरूको अगाडि उभिएको देखिन्छ । पुटिनले भने– गत वर्ष हामीले धेरै कुरा सच्याएका थियौं । साहस र वीरतालाई छल र कायरताको पञ्जाबाट मुक्त गरे सँगै हामी सबै समस्याहरू पार गर्नेछौं र हाम्रो देशको महानता बचाउनेछौं ।

साथै पुटिनले पश्चिमी देशहरूले रुसलाई युद्धमा जान बाध्य पारेको आरोप लगाएका छन् । उनले अमेरिका र पश्चिमा देशले झूट बोलेको र अहिले युक्रेन र त्यहाँका जनतालाई रुसविरुद्ध प्रयोग गरिरहेको बताए । जसलाई हामीले कदापि सहने छैनौं ।

सन् २०२२ को अन्त्यसम्ममा रुसले फेरि युक्रेनमाथि मिसाइल आक्रमण गरेको थियो । नयाँ वर्षको पूर्वसन्ध्यामा पुरै देश बम विस्फोटको आवाजले गुन्जिएको थियो । उक्त आक्रमणमा युक्रेनको राजधानी कीभमा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । कडा चिसोमा नयाँ वर्ष मनाउने तयारीमा रहेका युक्रेनका जनतालाई ठूलो झट्का लागेको छ । पछिल्लो तीन दिनमा युक्रेनमा रुसले गरेको यो दोस्रो ठूलो मिसाइल आक्रमण हो ।