अन्तराष्ट्रिय

ब्राजिलमा प्रहरीको मिलेमतोमा संसद आक्रमणः नयाँ राष्ट्रपति लुलाको आरोप

ब्रासिलिया । ब्राजिलमा नयाँ राष्ट्रपति लुला दा सिल्भाको सपथ ग्रहण समारोहको एक सातापछि पूर्व राष्ट्रपति जैर बोल्सोनारोका हजारौं समर्थकले त्यहाँको संसद र राष्ट्रपति भवनमा तोडफोड गरेका छन् । यस मामिलामा अहिलेसम्म १५ सय जना पक्राउ परेका छन् ।
अब ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले त्यहाँको सुरक्षा बललाई दोष दिएका छन् । सिल्भाले हमलाका दोषी पत्ता लगाउन जारी राख्ने वाचा गरेका छन् । लुला दा सिल्भाले प्रदर्शनकारी र प्रहरी आपसमा कुरा गरिरहेका धेरै भिडियो फुटेज रहेको दाबी गरेका छन् । आक्रमणकारीहरू प्रहरीसँगको मिलेमतोमा थिए ।

गभर्नरहरूसँगको भेटमा उनले प्रहरी र गुप्तचर निकायले सबै धम्कीलाई बेवास्ता गरेको बताए । सीएनएनको रिपोर्टका अनुसार प्रदर्शनकारीहरू सरकारी भवनहरूमा प्रवेश गर्दा पुलिस चुपचाप हेर्दै थिए । त्यस्तै बीबीसी रिपोर्टका अनुसार दंगाकारीहरूले आफूले के तोडिरहेका छन् भन्ने वास्ता पनि गरेका थिएनन् । उनीहरूले आफ्नै देशको बहुमूल्य चित्रकला र कलालाई हानी पु¥याएका छन् । जसका कारण ब्राजिलले करोडौंको नोक्सानी बेहोर्नु परेको छ । ब्राजिलको राष्ट्रपति भवनका एक अधिकारीले आफ्नो कला संग्रहमा पुर्याएको क्षति कदापि पूर्ति हुन नसक्ने बताएका छन् ।

हिंसाका क्रममा तोडफोड भएको एउटा पेन्टिङको मूल्य १२ करोड २७ लाख रुपैयाँ थियो । सोही क्रममा ३८ लाखको कलात्मक संरचना थियो जसलाई आन्दोलनकारीले धेरै ठाउँमा तोडफोड गरेका छन् ।