अन्तराष्ट्रिय

पाकिस्तानमा पीठोको अभाव : सस्तोमा पीठो किन्न गएका ४ जनाको मृत्यु, १ केजीको पीठोको मूल्य १५० रुपैयाँ

इस्लामाबाद । पाकिस्तानमा मुद्रास्फीति दर २५ प्रतिशत पुगेको छ । पीठो अभावका कारण यहाँ कोलाहल मच्चिएको छ । सहुलियतको पीठोको मौज्दात सकिएको छ । जसका कारण सरकारले देशका विभिन्न भागमा जनतालाई कम मूल्यमा पिठोका प्याकेट उपलब्ध गराउँदै आएको छ । पीठोको चरम अभावमा सस्तो पीठो किन्न खोज्दा अहिलेसम्म ४ जनाको ज्यान गएको छ ।

शनिबार, सिन्ध राज्यको मिरपुर खास जिल्लामा खाद्य विभागबाट ट्रकमा ल्याइएको पीठोका प्याकेटहरू देखेर भीड जम्मा भएको थियो । पाकिस्तानी मिडियाका अनुसार भीडमा भएकोझडपमा धेरै व्यक्ति घाइते भएका छन् । ३५ वर्षीय मजदुरलाई जनताले कुटपिट गरेपछि उनको घटनास्थलमै मृत्यु भएको छ ।

अर्को घटनामा शहीद बेनजिराबाद जिल्लाको सकरन्द सहरमा सस्तो पीठो किन्ने क्रममा एउटा पिठो मिल बाहिर भागदौड मच्चिएको थियो । जसका कारण तीन महिलाको मृत्यु भएको छ । सिन्धमा पीठोको माग बढी छ र आपूर्ति निकै कम छ । सिन्ध र कराँचीमा पिठोको मूल्य प्रतिकिलो १४० देखि १६० रुपैयाँ छ । प्रतिकिलो ६५ रुपैयाँ अनुदानमा पीठो बिक्री भइरहेको छ । अवस्था यति नाजुक छ कि ५ किलोको बोराका लागि पनि मानिसहरु लडिरहेका छन् ।

खैबर पख्तुनख्वामा अवस्था सबैभन्दा खराब छ । यहाँ जनताले पिठोका लागि यस्ता सरकारी पसल खोजिरहेका छन्, जहाँ एक प्याकेट एक हजारदेखि १५ सय रुपैयाँमा पाइन्छ । वास्तवमा २० किलोको पिठोको प्याकेटको मूल्य खुल्ला बजारमा ३ हजार १ सयसम्म पुगेको छ । एक वर्षअघि यसको मूल्य ११ सय रुपैयाँ थियो । सरकारका तर्फबाट पिठो वितरण गर्दा दुर्घटना हुन नदिन सशस्त्र प्रहरी परिचालन गरिएको छ । यति हुँदाहुँदै भीडलाई नियन्त्रण गर्न गाह्रो भइरहेको छ । प्याकेट सकिनुअघि नै पिठो किन्न मानिसहरु दौडधुप गरिरहेका छन् । यो अवस्था कराची, इस्लामाबाद, पेशावर, क्वेटा र बलुचिस्तानमा पनि देखिएको छ ।

पीठोको मूल्यवृद्धिका कारण धेरै क्षेत्रका जनता सरकारविरुद्ध सडकमा उत्रिएका छन् । भागदौडमा ज्यान गुमाएकाले जनता पनि आक्रोशित छन् । सिन्धमा एक मजदुरको मृत्युमा विपक्षी नेता हाजी आदिल शेखले भने– सरकार जनतालाई कम मूल्यमा पीठो उपलब्ध गराउन असफल भएको छ । पीठोको अभावमा ज्यान गुमाउनु अत्यन्तै खेदजनक छ ।

पाकिस्तानमा खाना पकाउन सिलिण्डरको सट्टा प्लास्टिकको झोलामा ग्यास प्रयोग गर्ने चलन बढेको छ । ग्यास पाइपलाइन नेटवर्कमा जोडिएका पसलभित्र झोला भरेर ग्यास बिक्री भइरहेको छ । मानिसहरुले यसलाई भान्सामा सानो विद्युतीय सक्शन पम्पको सहयोगमा प्रयोग गरिरहेका छन् ।

वास्तवमा, पाकिस्तानमा प्राकृतिक ग्यासको भण्डारमा कमी आएको छ । जसका कारण सरकारले आपूर्ति घटाएको छ । ग्यास अभावका कारण मुद्रास्फीति पनि बढेको छ । जनतालाई ग्यास सिलिन्डर किन्न मुस्किल भएको छ । यसको तुलनामा अवैध रूपमा बिक्री हुने यी झोलाहरू किन्न सजिलो र सस्तो छ ।