अन्तराष्ट्रिय

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा १० जनाको मृत्यु, ७ घाइते

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा आइतबार एक सामूहिक गोली हानाहान भएको छ । यसमा धेरैको ज्यान गएको आशंका गरिएको छ । रिपोर्टका अनुसार यो घटना चिनियाँ नयाँ वर्षको उत्सवको क्रममा भएको हो । गोलीबारी मोन्टेरी पार्क क्षेत्रमा भएको थियो। केही रिपोर्टहरूले कम्तीमा १० जनाको मृत्यु भएको र ७ जना घाइते भएको बताएका छन् ।

तर, प्रहरीले यसबारे अहिलेसम्म कुनै जानकारी दिएको छैन । केही सामाजिक सञ्जाल अकाउन्टमा यो विषय रंगभेदसँग सम्बन्धित रहेको बताइएको छ । स्थानीय जनता र एसियाली समुदायबीच हिंसा भड्किीएको बताईएको छ । मृत्यु हुनेमा एक महिला र उनको ६ महिनाको छोरा रहेको एक मिडिया रिपोर्टले जनाएको छ । यसबाहेक चिनियाँ मूलका १७ वर्षीय युवकको पनि हत्या भएको छ । यस सम्बन्धमा प्रहरीले केही समयपछि बयान जारी गर्न सक्छ ।

घटनाका बेला निकै चर्को स्वरमा संगीत बजिरहेकोले आतिशबाजी भइरहेको हो वा गोली चलेको हो भन्ने बुझ्न नसकेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै ‘स्काई न्यूज’ले जनाएको छ । केही समयपछि घाइतेहरु दौडिरहेको देखेपछि सत्यतथ्य थाहा भयो । प्रहरीका अनुसार घटनाका बेला हजारौं मानिस उपस्थित थिए । त्यसैले मृत्यु हुनेको संख्या बढ्न सक्छ । यहाँ दुई दिने मेला चलिरहेको थियो । यसअघि पनि यस क्षेत्रमा स्थानीय गोरा समाज र एसियाली समुदायबीच हिंसा भइसकेको छ ।