अन्तराष्ट्रिय

ढाकाको सिद्दिक बजारमा विष्फोटः १४ जनाको मृत्यु, सय घाइते बंगलादेशमा तेस्रो विस्फोट 

ढाका । बंगलादेशको ढाकामा मंगलबार विष्फोट भएको छ । जसमा १४ जनाको मृत्यु भएको छ । सयभन्दा बढी घाइते भएको बताइएको छ । समाचारका अनुसार पुरानो ढाकाको सिद्दिक बजारमा बेलुकी ४ः५० बजे विष्फोट भएको थियो । यस अवधिमा त्यहाँ धेरै मानिसहरू उपस्थित थिए । विस्फोटको कारण खुल्न सकेको छैन । केही रिपोर्टहरूमा यसलाई सिलिन्डर विस्फोटको रूपमा वर्णन गरिएको छ ।

बंगलादेश समाचार वेबसाइटका अनुसार सिद्दिक बजारमा रहेको सात तले भवनमा विस्फोट भएको हो । दुई तला पूर्ण रुपमा ध्वस्त भएको छ । यस भवनमा घर सफा गर्न प्रयोग हुने सामानका पसलहरू थिए । केही केमिकलले आगो लागेको र पछि सिलिन्डर विस्फोट भएको अनुमान गरिएको छ । विष्फोटपछि फोहोर सडकमा फैलिएको छ । सडकमा उभिएको बस पनि त्यसको चपेटामा परेको थियो । विष्फोट यति शक्तिशाली थियो कि सडकको छेउमा रहेको भवनमा रहेका धेरै कार्यालयका सिसा फुटेका छन् ।

सडकको अर्को छेउमा रहेको बैंकको कार्यालयमा कार्यरत अब्दुर रहमान नामका व्यक्तिले विष्फोटका कारण पूरै भवनका धेरै सिसा फुटेको बताए । आगलागीको कारणबारे अनुसन्धान भइरहेको दमकलका उपनिर्देशक दीन मुनीले बताए । ढाकामा मंगलबार भएको यो विष्फोट यो हप्ताको तेस्रो विस्फोट हो । यसअघि मार्च ६ मा विज्ञान प्रयोगशालामा विष्फोट हुँदा ३ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए । यसको कारण एयर कन्डिसनरको खराबी रहेको बताइएको छ । सोमबार ढाकाको अक्सिजन प्लान्टमा पनि विस्फोट भएको थियो जसमा पाँच जनाको मृत्यु भएको थियो । ३० जना घाइते भएका छन् ।