समाचार

सम्माननीय राष्ट्रपतिसमक्ष राष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश

काठमाडौं । निर्वाचन आयोगले संवत् २०७९ फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन मिति २०७९ फागुन २६ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । नेपालको संविधानको धारा ६२ बमोजिम सम्पन्न राष्ट्रपतिको निर्वाचन परिणामको उक्त प्रतिवेदन राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम राष्ट्रपति भवन शीतल निवासमा माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले पेश गरेको हो ।

सो अवसरमा सम्माननीय राष्ट्रपतिले उक्त निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराएकामा आयोग, सम्बन्धित राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा सहभागी हुने निर्वाचक मण्डलका सदस्य, निर्वाचन सम्पन्न गराउन खटिएका कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबै पक्षमा हार्दिक धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा माननीय निर्वाचन आयुक्तहरू रामप्रसाद भण्डारी, डा.जानकी कुमारी तुलाधर, सगुन शम्शेर जबरा, आयोगका सचिव गोकर्णमणि दुवाडीसहितको सहभागिता थियो ।