समाचार

उपराष्ट्रपतिको निर्वाचन सम्पन्न, रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित

काठमाडौं । आज चैत ३ गतेका लागि निर्धारित उपराष्ट्रपतिको निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ । निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी उपराष्ट्रपतिको उम्मेदवार श्री रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएका छन् भने उम्मेदवार श्री अष्टलक्ष्मी शाक्य (बोहरा) ले १६ हजार ३२८ मतभार, ममता झाले २ हजार ५३७ मतभार र प्रमिला कुमारीले ४८ मतभार प्राप्त गरेको छ । निर्वाचनमा ३११ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।

विजयी उम्मेदवार श्री रामसहाय प्रसाद यादवलाई निर्वाचन अधिकृतको कार्यालय, नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी नियमावली, २०७४ को नियम ४१ बमोजिम निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलिया, आयुक्तहरू माननीय रामप्रसाद भण्डारी, माननीय डा. जानकी कुमारी तुलाधर र माननीय सगुन शम्शेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडीलगायत आयोग परिवारले मुलुकको सम्मानित पद उपराष्ट्रतिमा निर्वाचित भएकोमा श्री रामसहाय प्रसाद यादवलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न भूमिका निर्वाह गर्ने सम्बन्धित राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा सहभागी हुने निर्वाचक मण्डलका सदस्य, निर्वाचन सम्पन्न गराउन खटिएका कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबै पक्षमा आयोग हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले यस निर्वाचनको परिणामसहितको प्रतिवेदन २०७९ चैत ५ गते आइतबार सम्माननीय राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको छ ।