अन्तराष्ट्रिय

अमेरिकामा गनकल्चर : एटलान्टामा फेरि गोली चल्यो, एक किशोरसहित तीन जनाको मृत्यु

वासिङ्टन । अमेरिकाको जर्जियाको राजधानी एटलान्टास्थित एक सपिङ मल नजिक शनिबार (स्थानीय समय) गोलीबारी भएको छ । घटनामा एक किशोर सहित तीन जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार दिउँसो १ः३० बजे दक्षिणपश्चिम एटलान्टाको इभान्स स्ट्रिटमा एक व्यक्तिलाई गोली प्रहार गरिएको बताइएको छ । त्यसपछि अधिकारीहरूलाई घटनास्थलमा बोलाइयो। प्रारम्भिक अनुसन्धानका अनुसार तीन पीडित मध्ये एकले गोली चलाएको हो । पहिले उनले ती दुई जनालाई भेटेर फायरिङ गरे । उनीहरु मध्ये एकले पेस्तोल निकालेर जवाफी फायर गरेको प्रहरीले जनाएको छ ।

रिपोर्टका अनुसार तीनै जना पुरुष थिए । तीमध्ये एकको उमेर १७ वर्ष, अर्को २० वर्षको थियो भने तेस्रोको ३० वर्षको थियो । प्रहरीले अभियुक्तको परिचय भने खुलाएको छैन । रिपोर्टका अनुसार प्रहरीले गोली चलाउनुको कारणबारे अनुसन्धान गरिरहेको छ ।