अन्तराष्ट्रिय

पाकिस्तान : बलुचिस्तानमा आम निर्वाचनको ८ दिन अगाडि भएको शक्तिशाली बम विस्फोटले देशको सुरक्षामा चिन्ता

सिबि, बलुचिस्तान । पाकिस्तानको बलुचिस्तानमा शक्तिशाली विस्फोट भएको छ । यो आतंकवादी हमला बलुचिस्तानको सिबीमा भएको हो । विस्फोटमा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । यो आतंकवादी हमला सहरको जिन्ना रोडमा भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सिभिल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले जनाएको छ । यो घटनापछि अस्पतालमा आपतकालीन व्यवस्था गरिएको छ । पाकिस्तानमा फेब्रअरी ८ मा आम चुनाव हुँदैछ । उक्त विस्फोटपछि देशमा सुरक्षा व्यवस्था बढाइएको छ । त्यसैगरी जिल्लामा प्रहरी सुरक्षा व्यवस्था पनि मजबुत बनाइएको छ ।

सिबीका उपायुक्त खुदा–ए–रहिमले पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को ¥याली सहरबाट गुज्रिरहेको बेला विस्फोट भएको पुष्टि गरेका छन् । समाचारका अनुसार, पीटीआई बलुचिस्तानका प्रवक्ता नाजिर अचकजाईले पनि आफ्ना एक उम्मेदवारको ¥यालीलाई लक्षित गरी भएको विस्फोटमा पार्टीका तीन कार्यकर्ताको मृत्यु भएको पुष्टि गरेका छन् । कार्यवाहक बलुचिस्तान सूचना मन्त्री जोन अचकजाईले घटनाप्रति प्रतिक्रिया व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । प्रदेश सरकारलाई निर्वाचन गर्न निरुत्साहित गर्ने उद्देश्यले आक्रमण गरिएको भन्दै मन्त्रीले आगामी निर्वाचन निर्धारित समयमै हुने बताए । पाकिस्तानको निर्वाचन आयोगले घटनाको संवेदनशिलता लिएर प्रान्तीय प्रहरी प्रमुखसँग प्रतिवेदन मागेको छ । बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तमा पछिल्ला केही महिनाहरूमा आतंकवादी हमलाहरूमा तीव्र वृद्धि भएको छ । –एएनआई