अन्तराष्ट्रिय

बोइङ ७७७ विमान जापान जाँदै गर्दा विमानको पाङ्ग्रा खस्यो

सान फ्रान्सिस्को । युनाइटेड एयरलाइन्सको बोइङ ७७७ विमान जापान जाँदै थियो । विमान उड्नेबित्तिकै आकाशमा विमानकोे चक्का निस्कियो र तल खस्यो । विमानको मुख्य ल्यान्डिङ गियरको देब्रेपट्टि रहेको ६ वटा टायरमध्ये एउटा खसेर भुइँमा खसेको थियो ।
टेक अफ भएको केही सेकेन्डमै टायर खसेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । बोइङ ७७७ विमान अमेरिकाको सान फ्रान्सिस्कोबाट उडेको थियो, जसमा २३५ यात्रु र १४ चालक दलका सदस्यहरू थिए । विमानले लस एन्जलसमा आपतकालीन अवतरण गरेको छ र सबै यात्रु सकुशल छन् ।

भिडियोमा विमानको बायाँ छेउको मुख्य ल्यान्डिङ गियर एसेम्बलीमा रहेको छवटा टायरमध्ये एउटा टेकअफ भएको केही सेकेन्डमा खसेको देखाइएको छ । सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रमा रहेको कारको पछाडिको झ्यालमा टायर ठोक्किएको थियो । विमानस्थलका प्रवक्ता डग याकलले एक विज्ञप्तिमा उक्त घटनामा कोही पनि घाइते नभएको र विमान सकुशल अवतरण गरेको बताए । एयरलाइन्सले सन् २००२ मा निर्मित उक्त विमानलाई टायरबाट सुरक्षित अवतरण गर्ने गरी डिजाइन गरिएको जनाएको छ । बोइङ ७७७ मा दुईवटा मुख्य ल्यान्डिङ गियरमा छवटा टायर हुने गर्छन् ।-एपी