अन्तराष्ट्रिय

भारी वर्षाले पाकिस्तानको खैबर पख्तुनख्वामा ९ बालबालिकासहित १० जनाको मृत्यु

एएनआई, खैबर पख्तुनख्वा । पाकिस्तानमा लगातारको वर्षाका कारण धेरै ठाउँमा बाढीको अवस्था सिर्जना भएको छ । खैबर पख्तुनख्वामा विगत दुई दिनमा वर्षासँग सम्बन्धित घटनाहरूमा १० जनाको मृत्यु भएको छ र १२ जना घाइते भएका छन्, प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) ले आइतबार बताएको छ ।

पीडीएमएका प्रवक्ता अनवर शहजादले मृत्यु हुनेमा आठ बालबालिका र दुई महिला रहेको र घाइते हुनेमा नौ बालबालिका, दुई महिला र एक पुरुष रहेको बताए । शनिबार रातिसम्म प्राप्त विवरणअनुसार वर्षा र असिनापानीका कारण केपीमा २७ घरमा क्षति पुगेको शाहजादले बताए । द नेशनका अनुसार उनले प्रभावित क्षेत्रमा राहत कार्य जारी रहेको बताए ।

पीडीएमए ले शनिबार राति जारी गरेको संक्षिप्त प्रतिवेदनमा साङ्ला, बन्नु, बाजौर, पेशावर, नौसेरा र मानसेरामा छाना र घर भत्किने विभिन्न घटनामा मृत्यु भएको जनाइएको छ । शुक्रबारदेखि मुलुकभर भारी वर्षा भइरहेको छ । द नेशनका अनुसार प्रतिवेदनमा भनिएको छ, “माथि उल्लेखित क्षेत्रहरूसँगै मोहमन्द, मर्दान, उत्तरी वजिरिस्तान, स्वात र अपर दिरमा तीनवटा घरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने सातवटामा आंशिक क्षति पुगेको छ । हरबन तहसीलका अध्यक्ष असदुल्लाह कुरैशीले सञ्चारकर्मीसँग कुरा गर्दै अविरल वर्षाका कारण आएको बाढीमा १९ गाईको मृत्यु भएको र १५ गाईवस्तुको घेरा बगाएको बताए ।