अन्तराष्ट्रिय

पाकिस्तानमा फेरि सुरक्षाकर्मीमाथि आक्रमण, दुई जनाको मृत्यु अन्य चार घाइते

पीटीआई, कराँची । पाकिस्तानको अशान्त बलुचिस्तान प्रान्तमा सुरक्षा बलमाथि आक्रमण रोकिएको छैन । अज्ञात बन्दुकधारीहरूले आइतबार ग्वादर जिल्लाको बन्दरगाह सहर अंकारा बाँध क्षेत्रमा बम डिस्पोजल टोलीमा अन्धाधुन्ध गोली चलाउँदा दुई सैनिकको मृत्यु हुनुका साथै चार जना घाइते भएका थिए । घटनामा बलुच विद्रोहीलाई आशंका गरिएको छ तर अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन ।

सोमबारको डन अखबारको रिपोर्ट अनुसार बम डिस्पोजल टोलीले बारुदी सुरंग हटाउने क्रममा उक्त घटना भएको हो । ग्वादरका एसएसपी मोहसिन जोहाइबले घटना ग्वादर शहरबाट २५ किलोमिटर टाढा भएको बताए । घाइते सैनिकहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । आक्रमणकारीको खोजीका लागि सुरक्षा बलले अभियान सुरु गरेको छ ।

यसैबीच, थिंक ट्याङ्कको रिपोर्ट अनुसार २०२४ को पहिलो तीन महिनामा पाकिस्तानमा २४५ आतंकवादी घटनाहरू रिपोर्ट गरिएका छन् । यी घटनामा सर्वसाधारण, सुरक्षा बल र विद्रोहीसहित ४३२ जनाको मृत्यु भएको छ भने ३७० जना घाइते भएका छन् । बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) ले बलुचिस्तानमा चीनको लगानीको विरोध गरेको छ । राज्यको धनी स्रोत चीन र पाकिस्तानले दुरुपयोग गरिरहेको उनको आरोप छ । बीएलएले यसअघि पनि ग्वादरमा सुरक्षा बलमाथि पटक पटक आक्रमण गरिसकेको छ ।