समाचार

‘युरेशियाको मुटुः रुसको ओरेन्बर्ग’

काठमाडौँ, २१ फागुन । नेपाल र रुसको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने उद्देश्यले ‘हर्ट अफ युरेशिया–ओरेन्बर्ग रिजन अफ रसिया’ शीर्षक कला प्रदर्शनी शुरु भएको छ । नेपाल रसियन आर्ट क्लब र रुसी सांस्कृतिक केन्द्रले कमलपोखरीस्थित केन्द्रको परिसरमा आयोजना गरेको प्रदर्शनीमा युरोप र एशियाका पुल, प्रकृति, चराचुरुङ्गी आदि करीव ४० तस्वीर तथा पश्मिनालगायत सामग्री राखिएको छ ।
यही फागुन २७ गतेसम्म जारी रहने प्रदर्शनीमा नेपालका तर्फबाट लर्ड बुद्ध प्रतिष्ठानले उत्पादन गरेका पश्मिना सामग्रीका साथै रुसमा निर्माण गरिएका कलात्मक रुमाल, पश्मिनालगायत वस्तु छन् । कार्यक्रममा काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले दुई देशबीचको सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नका लागि सांस्कृतिक आदानप्रदान तथा कला प्रदर्शनी महत्वपूर्ण हुने बताउनुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, हस्तकला विभाग प्रमुख तथा नेपाल रसियन आर्ट क्लबका अध्यक्ष सुष्मा राजभण्डारीले दुवै देशका जनताले सांस्कृतिक सम्बन्ध सुधारमा भूमिका निर्वाह गरेको जानकारी दिनुभयो । सांस्कृतिक केन्द्रका निर्देशक स्टानिस्लाभ सिमाकोभले युरोप र एशियाका महत्वपूर्ण विषयवस्तुको सूचना उपलब्ध गराउन कला प्रदर्शनी उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।