समाचार

पेशागत सुरक्षा र चुनौती संकट चुलिएकाले समाधानका लागि क्रियाशील पत्रकारहरुको एकता अपरिहाय

काठमाडौँ, असार १३ । असार २२ गते हुने भनिएको पत्रकार महासंघ निर्वाचनमा आफनो नेतृत्व सुुनिश्चित गर्न जागरुक भएका छन् । बुधबार देशभरका क्रियाशील पत्रकारहरु संघ संगठनका नेतृत्वहरुबीचको भेलाले त्यसका लागि सबैसँग छलफल वार्ताका लागि संवाद टोली पनि बनाएको छ ।

श्रमजीवी/स्वरोजगार पत्रकारहरुले महासंघमा आगामी नेतृत्व सुुनिश्चित गर्न देशभरका सक्रिय तथा समावेशी पत्रकारहरु एकतावद्ध हुनपर्ने छलफलमा सहभागी पत्रकारका नेताहरुले बताए । महासंघको तीनै तहको निर्वाचन क्रियाशील पत्रकारहरुका लागि गौरव र चुनौति दुवै भएकाले आफूहरु जिम्मेवार भएर निर्धारित समयमै निर्वाचन सम्पन्न गरी क्रियाशीलहरुले नेतृत्व गरेको महासंघ बनाउन हरतरहले लागिपर्ने प्रतिवद्धता सहभागीहरुले जनाएका थिए ।

सो बैठकमा सहभागी क्रियाशील पत्रकारहरुले छलफलपछि जारी एक प्रेस नोटमा नेपाली पत्रकारितामा मिडिया संकट, क्रियाशील पत्रकारका सुरक्षा चुनौती र पेशागत सुरक्षा संकट चुलिएकाले यसको समाधानका लागि क्रियाशील पत्रकारहरुको एकता अपरिहार्य आवश्यकता बनेको बताइएको छ । यही आवश्यकता पूरा गर्न सबै श्रमजीवी, व्यवसायिक पत्रकारको साझा समावेशी मोर्चा पत्रकार महासंघ बन्न जरुरी भएको सो विज्ञप्तिमा भनिएको छ ।

‘महासंघ नेतृत्व र अध्यक्षमण्डलले आप्mनो भूमिका निर्वाह गर्न नसकेकोमा नेतृत्वप्रति पत्रकारहरुले गम्भीर प्रश्न उठाएका छन् । निर्धारित समयमै सदस्यता विवाद निरुपण गरेर निर्वाचन सम्पन्न हुने विश्वास आम पत्रकारहरुमा दिनु जरुरी छ । अतः विश्वासको वातावरणसहित महाधिवेशन सम्पन्न गरेर पत्रकार महासंघको गरिमा रक्षा गर्न सिन्डीगेटधारीहरुलाई परास्त गर्न जरुरी छ । त्यसका लागि देशभरका सम्पूर्ण पत्रकारहरुलाई यो स्वतन्त्र अभियानमा सहभागी हुन हार्दिक आव्हान गर्दछौं,’ प्रेस नोटमा उल्लेख छ ।

क्रियाशील पत्रकारहरुको वृहत्तर छलफल गरी पत्रकार र पत्रकारितासँग आबद्ध सबै संघ संगठन र पक्षसँग वार्ता, सम्वाद र सहकार्यका गठित संवाद टोलीमा योगेन्द्र प्रताप शाही, मोहनकुमार सिंह, योगेश खपाङ्गी, प्रवीण चौधरी, यकिना अगाध, विदूर ढुङ्गेल, गोपाल पौडेल र मनिषा अवस्थी रहेका छन् ।