अन्तराष्ट्रिय

‘उमेर दोब्बर बनाउने सूत्र’ : १२ वर्षदेखि ३० मिनेट मात्र सुतिरहेका छन् डाइसुके होरी

टोकियो, भाद्र २० । जापानको ह्योगो प्रिफेक्चरमा बस्ने डाइसुके होरी नामका व्यक्ति दिनमा ३० मिनेट मात्र सुत्छन् । उनले यो काम विगत १२ वर्षदेखि गर्दै आएका छन् । पेशाले व्यवसायी रहेका ४० वर्षीय दाइसुके विगत १२ वर्षदेखि दैनिक ३० मिनेट मात्र सुत्ने गरेका छन् । आफ्नो जीवन दोहोरो बनाउन यो दिनचर्या पछ्याइरहेको होरी बताउँछन् । होरीको दाबी छ कि उनले आफ्नो शरीर र दिमागलाई यसरी प्रशिक्षित गरेका छन् कि ३० मिनेटको निन्द्रा पछि आफ्नो शरीर फेरि कामको लागि तयार हुन्छ । होरी भन्छन् निद्रालाई ३० मिनेटमा सीमित गर्दा उनको कार्य क्षमतामा उल्लेखनीय सुधार भएको छ ।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्टका अनुसार डाइसुके होरीले मानव शरीरलाई राम्रो स्वास्थ्यका लागि ६ देखि ८ घण्टा निद्रा आवश्यक हुन्छ र निद्राको कमीले शरीरमा नकारात्मक असर पार्छ भन्ने सिद्धान्तमा स्वास्थ्य विशेषज्ञहरूलाई पुनर्विचार गर्न बाध्य बनाएको छ । ३० मिनेट मात्र सुत्ने होरीले न्यूनतम निद्रामा आफ्नो शरीर सामान्य रूपमा काम गरिरहेको बताउँछन् । यसले उनको शरीर र दिमागमा नकारात्मक नभई सकारात्मक प्रभाव पारेको छ ।

डाइसुके होरीका अनुसार यदि तपाईंले नियमित व्यायाम गर्नुहुन्छ र खाना खानुभन्दा एक घण्टा अगाडि कफी पिउनुभयो भने यसले तपाईंलाई निद्रा लाग्नबाट जोगाउँछ । ध्यान केन्द्रित गर्न र काम गर्न लामो निद्राभन्दा राम्रो गहिरो निन्द्रा आवश्यक रहेको होरीको विश्वास छ । उनले भने, ‘काममा निरन्तर एकाग्रता चाहिने मानिसले लामो सुत्नुभन्दा पनि उच्च गुणस्तरको निद्रा लिनुपर्छ । होरीको ३० मिनेट मात्र सुत्ने दाबीको सत्यता पत्ता लगाउन जापानको योमिउरी टिभीले विल यु गो विथ मी नामक रियालिटी शोमा तीन दिनसम्म उनको निगरानी गरेको थियो । शोमा होरी २६ मिनेट मात्र सुतेको र पूर्ण रूपमा ताजा भएर उठेको देखियो ।

होरीले जापान सर्ट स्लीपर ट्रेनिङ एसोसिएसन पनि चलाउँछन्, जुन उनले डन्डनाटामा सुरु गरेका थिए । यस संघ अन्तर्गत उसले निद्रा र स्वास्थ्य सम्बन्धी कक्षाहरू दिन्छन । होरीले हालसम्म १,१०० भन्दा बढी व्यक्तिहरूलाई अल्ट्रा–सर्ट स्लीपर बन्न तालिम दिएका छन् । भियतनामका थाई एनगोक नामका ८० वर्षीय व्यक्तिले केही समयअघि आफू ६० वर्षदेखि नसुतेको दाबी गरेका थिए । एनगोक भन्छन् कि सन् १९६२ मा ज्वरो आएपछि उनले सुत्ने क्षमता गुमाए । विभिन्न उपचार र निद्राको चक्कीको बावजुद उनको अनिद्रा यथावत छ तर आजसम्म उनी निदाएका छैनन् ।