अन्तराष्ट्रिय

बंगलादेशमा मोहम्मद युनुस सरकार विरुद्ध हिन्दुहरुको आक्रोश

ढाका, कार्तिक १८ । बंगलादेशमा अल्पसंख्यक हिन्दू समुदायका हजारौं सदस्यहरूले शनिबार ¥याली निकालेका थिए र अन्तरिम सरकारसँग शृंखलाबद्ध आक्रमण र उत्पीडनबाट सुरक्षा र समुदायका नेताहरू विरुद्ध दायर देशद्रोहको मुद्दा खारेज गर्न माग गरेका थिए । करिब ३०,००० हिन्दूहरूले दक्षिण–पूर्वी सहर चटगाउँको प्रमुख चौराहेमा जुलुस निकालेर नाराबाजी गरेका थिए । देशका अन्य ठाउँमा पनि विरोध प्रदर्शनहरू रिपोर्ट गरिएको थियो ।

अगस्टको सुरुमा प्रधानमन्त्री शेख हसिनाको धर्मनिरपेक्ष सरकारलाई हटाएपछि र हसिनाले देश छोडेपछि हिन्दूहरू विरुद्ध हजारौं आक्रमणहरू भएको हिन्दू समूहहरूले बताएका छन् । हसिना सरकारको पतनपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । विद्यार्थी आन्दोलनले हिंसात्मक रुप लिएपछि शेख हसिनाले देश छोडेकी थिइन् । बंगलादेशको जनसङ्ख्या करिब १७ करोड छ, जसमध्ये झण्डै ८ प्रतिशत हिन्दू र ९१ प्रतिशत मुस्लिम छन् ।

देशको प्रभावशाली अल्पसंख्यक समूह ‘बंगलादेश हिन्दू बौद्ध क्रिश्चियन युनिटी काउन्सिल’ ले अगस्ट ४ यता हिन्दूमाथि २ हजारभन्दा बढी आक्रमण भएको जनाएको छ । हिन्दू र अन्य अल्पसंख्यक समुदायहरूले अन्तरिम सरकारले उनीहरूलाई पर्याप्त रूपमा संरक्षण नगरेको र हसिनाको प्रस्थान पछि कट्टरपन्थी इस्लामवादीहरू बढ्दो प्रभावकारी हुँदै गएको बताउँछन् ।