हैदराबाद । तेलंगानाको राजधानी हैदराबादमा आइतबार बिहान यहाँको ऐतिहासिक चारमिनार नजिकै रहेको गुलजार हाउसमा भीषण आगलागी भएको छ । भवनमा भएको यस भीषण आगलागीमा १७ जनाको मृत्यु भएको स्थानीय समाचरले जनाएको छ । मृत्यु हुनेमा बालबालिका र महिलाहरु पनि छन् । प्रधानमन्त्री मोदी र मुख्यमन्त्री ए रेवन्त रेड्डीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । भवनमा फसेका मानिसहरूलाई उद्धार गर्न आवश्यक सबै कदम चाल्न वरिष्ठ अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
आगलागी भएको भवन शहरको एक प्रसिद्ध भवन हो । यो आगलागी शहरको सबैभन्दा ठूलो आगलागी दुर्घटनाहरू मध्ये एक बनेको छ । घाइतेमध्ये दश जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूलाई डीआरडीओ अस्पताल, उस्मानिया जनरल अस्पताल र एक निजी अस्पतालमा लगिएको खबर छ ।
अग्नि नियन्त्रण विभागका अनुसार आगलागी बिहान ५ः३० बजे लागेको थियो । त्यतिबेला धेरैजसो मानिसहरू सुतिरहेका थिए । भवनको भुइँ तल्लाबाट आगो सुरु भएको थियो । त्यसपछि धुवाँ चाँडै भवनभरि फैलियो र यस कारण, मानिसहरू निसास्सिएर ज्यान गुमाएका छन् ।
Add Comment