विविध

सिरहामा ९१ किलो गाँजासहित एक जना पक्राउ, चार जना फरार

सिरहा । सिरहामा ९१ किलो २५ ग्राम गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न चार जना भने फरार भएका छन्।

सखुवानान्कारकट्टी गाउँपालिका–४ सिमरास्थित बलान खोलामा शनिबार राति करिब २:३० बजे इलाका प्रहरी कार्यालय महेशवारी र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त टोलीले पाँच जनालाई पाँच वटा बोरामा गाँजा बोकेर ओसारपसार गरिरहेको अवस्थामा फेला पारेको थियो।

प्रहरीलाई देखेपछि उनीहरूले बोरा फालेर भाग्ने क्रममा एक जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका–४ जमुवा टोलका ४३ वर्षीय मोहन साह रहेका छन्।

फरारमध्ये सोही स्थानका करिब ४३ वर्षीय कलेन्द्र यादव र ४५ वर्षीय ब्रह्म यादवको पहिचान खुलेको प्रहरीले जनाएको छ। बाँकी दुई जनाको पहिचान खुल्न बाँकी छ।

फरार व्यक्तिहरूको खोजी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।