अन्तराष्ट्रिय

युक्रेनी ड्रोन आक्रमणले बेलगोरोदमा ठूलो क्षति, ५ को मृत्यु

काठमाडौँ । रुसको बेलगोरोद सहरमा युक्रेनले गरेको ड्रोन आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको रुसी अधिकारीहरूले बताएका छन्।

आइतबार रातभर भएको आक्रमणमा सुरुमा तीन जनाको मृत्यु भएको र २५ जना घाइते भएको जनाइएको थियो। घाइतेमध्ये दुई बालबालिका पनि छन्। पछि थप दुई जनाको मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो।

रुसी अधिकारीका अनुसार आक्रमणपछि दुईवटा आवासीय भवनमा आगलागी भएको थियो भने ठूलो संख्यामा आवासीय तथा गैरआवासीय संरचनामा क्षति पुगेको छ।

रुसको रक्षा मन्त्रालयले युरोपेली रुसका विभिन्न क्षेत्रसँगै क्रिमिया, ब्ल्याक सागर र आजोभ सागरमाथि १५० भन्दा बढी युक्रेनी ड्रोन नष्ट गरेको दाबी गरेको छ।

यसैबीच, ब्ल्याक सागरस्थित रुसको प्रमुख निर्यात बन्दरगाह नोभोरोसिस्कमा पनि ड्रोनका अवशेष खसेका छन्। स्थानीय अधिकारीका अनुसार घटनामा तीनवटा आवासीय भवनमा क्षति पुगेको छ भने एक जना घाइते भएका छन्।

रुस–युक्रेनबीच जारी द्वन्द्वका क्रममा दुवै पक्षबाट ड्रोन आक्रमण तीव्र भइरहेका बेला पछिल्लो घटना भएको हो।