पेरु । पेरुको दक्षिणी एन्डिज पर्वतीय क्षेत्रमा बिहीबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण कम्तीमा दुई जना घाइते भएका छन् भने घर, स्वास्थ्य केन्द्र तथा विद्यालयमा क्षति पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार स्थानीय समयअनुसार बिहीबार दिउँसो करिब १ बजे भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु आयाकुचो क्षेत्रको पारिनाकोचास प्रान्तस्थित उपाहुआचो सहरबाट करिब ३८ किलोमिटर उत्तरपश्चिममा रहेको थियो। भूकम्प करिब ६६ किलोमिटर गहिराइमा गएको USGS ले जनाएको छ।
भूकम्पको धक्का पेरुको दक्षिणी क्षेत्रका इका, अरेकिपा, हुआन्काभेलिका, अपुरिमाक र कुस्को लगायतका क्षेत्रमा महसुस गरिएको थियो। राजधानी लिमामा समेत भूकम्पको कम्पन महसुस भएको बताइएको छ।
नागरिक सुरक्षा प्रमुख लुइस भास्केजका अनुसार पारिनाकोचास प्रान्तको राजधानी कोराकोरा क्षेत्रमा भूकम्पका क्रममा घरबाट बाहिर निस्कने क्रममा दुई जना घाइते भएका छन्।
अधिकारीहरूले आयाकुचो र कुस्को क्षेत्रका विभिन्न जिल्लामा २२ वटा घर, ६ वटा स्वास्थ्य केन्द्र र एउटा विद्यालयमा क्षति पुगेको जानकारी दिएका छन्। पुकियो, पुल्लो, कोराकोरा, उपाहुआचो, सान पेद्रो र पिचारीलगायतका क्षेत्रमा क्षति पुगेको बताइएको छ।
भूकम्पपछि कोराकोरा आसपासका पहाडी क्षेत्रमा ढुंगा खस्ने घटना समेत भएको अधिकारीहरूले बताएका छन्। सम्भावित थप क्षतिको अवस्थाबारे स्थानीय प्रशासनले निरीक्षण तथा मूल्यांकन गरिरहेको छ।
यसैबीच, पेरुको नौसेनाले भूकम्पका कारण सुनामीको खतरा नरहेको स्पष्ट पारेको छ।
पेरु भूकम्पीय जोखिमका हिसाबले संवेदनशील मुलुक हो। यो देश प्रशान्त महासागर वरिपरि फैलिएको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्छ, जहाँ विश्वका धेरै भूकम्पीय गतिविधि हुने गर्छन्।
स्थानीय अधिकारीहरूले प्रभावित क्षेत्रमा क्षतिको थप विवरण संकलन तथा आवश्यक उद्धार र राहतसम्बन्धी काम अघि बढाइरहेका छन्।








Add Comment