अन्तराष्ट्रिय

स्वीडेनको विद्यालयमा तरबार प्रहार, एक जनाको मृत्यु; दुई विद्यार्थी गम्भीर घाइते

स्वीडेन । स्वीडेनको मध्य क्षेत्रमा रहेको एक उच्च माध्यमिक विद्यालयमा तरबार प्रहारबाट एक जनाको मृत्यु भएको छ। घटनामा दुई किशोर गम्भीर घाइते भएका छन् भने अर्का एक जनालाई सामान्य चोट लागेको अधिकारीहरूले बताएका छन्।

प्रहरीका अनुसार शुक्रबार स्थानीय समयअनुसार दिउँसो २ बजेपछि फागेर्स्टास्थित ब्रिनेल स्कुलमा आक्रमण भएको सूचना प्राप्त भएको थियो। घटनास्थलमा पुगेको प्रहरीले १८ वर्षीय एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीले पक्राउ गर्नुअघि संदिग्धमाथि गोली चलाएको जनाएको छ। उनको परिचय भने सार्वजनिक गरिएको छैन। स्थानीय सञ्चारमाध्यमका अनुसार संदिग्धले हेल्मेट लगाएका थिए र उनी उक्त विद्यालयका पूर्वविद्यार्थी हुन सक्ने बताइएको छ। प्रहरीले भने घटनाको सम्भावित उद्देश्यबारे अनुसन्धान गरिरहेको जनाएको छ।

घटनापछि आसपासका आठ विद्यालयलाई अस्थायी रूपमा लकडाउन गरिएको थियो। सुरक्षासम्बन्धी उच्च सतर्कता अपनाइएको भए पनि पछि ती प्रतिबन्ध हटाइएको प्रहरीले जनाएको छ। हाल सर्वसाधारणलाई थप खतरा नरहेको प्रहरीको भनाइ छ।

स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले घटनालाई गम्भीर घटना भन्दै प्रहरीबाट तीव्र अनुसन्धान भइरहेको बताएका छन्। उनले घटनाको पछाडि के कारण थियो भन्ने अझै स्पष्ट नभएको बताएका छन्।

स्वीडेनका राजा कार्ल १६औँ गुस्ताफले घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावित व्यक्ति तथा उनीहरूका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

ब्रिनेल स्कुलमा करिब ५०० विद्यार्थी अध्ययनरत रहेको बताइएको छ। विद्यालय राजधानी स्टकहोमबाट करिब १७० किलोमिटर उत्तरपश्चिममा रहेको फागेर्स्टा क्षेत्रमा पर्छ।

स्वीडेनमा पछिल्ला वर्षहरूमा शैक्षिक संस्थालाई लक्षित गरी हिंसात्मक घटना भएका छन्। सन् २०२५ मा ओरेब्रास्थित वयस्क शिक्षा केन्द्रमा भएको गोलीकाण्डमा आक्रमणकारीसहित ११ जनाको मृत्यु भएको थियो। त्यसपछि स्वीडेन सरकारले देशको बन्दुकसम्बन्धी कानुन थप कडा बनाएको थियो।

यस्तै, सन् २०२२ मा माल्मोको एक माध्यमिक विद्यालयमा भएको आक्रमणमा दुई शिक्षकको मृत्यु भएको थियो। सन् २०१५ मा ट्रोल्हेट्टानस्थित एक विद्यालयमा तरबार प्रहारबाट शिक्षक र एक विद्यार्थीको मृत्यु भएको थियो।

स्वीडेन प्रहरीले पछिल्लो घटनाको उद्देश्य र घटनाको सम्पूर्ण पृष्ठभूमिबारे अनुसन्धान जारी रहेको जनाएको छ।