अन्तराष्ट्रिय

रुस–युक्रेनमा भीषण हवाई हमला, कम्तीमा १७ जनाको मृत्यु

काठमाडौं । रुस र युक्रेनबीच शनिबार भीषण हवाई हमला हुँदा दुवै देशमा गरी कम्तीमा १७ जनाको मृत्यु भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका आर्थिक पूर्वाधारमाथि भएका आक्रमणको जवाफमा थप कडा प्रतिकारात्मक कारबाही गर्ने चेतावनी दिएका छन्।

अधिकारीहरूका अनुसार युक्रेनमा भएका रुसी आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने रुस तथा रुसी नियन्त्रणमा रहेका क्षेत्रमा भएका युक्रेनी आक्रमणमा कम्तीमा १० जनाको ज्यान गएको छ।

युक्रेनले रुसको समारा क्षेत्रमा रहेको औद्योगिक क्षेत्र तथा अनलाइन खुद्रा कम्पनी ओजोनको गोदाममा समेत आक्रमण गरेको रुसी अधिकारीहरूले बताएका छन्। आक्रमणपछि ओजोनको समारा क्षेत्रस्थित लजिस्टिक्स केन्द्रको काम रोकिएको र केही व्यक्ति घाइते भएको कम्पनीले जनाएको छ।

रुसको समारा क्षेत्रमा भएको आक्रमणमा एक वृद्ध महिलाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बताएका छन्। युक्रेनी सेनाले भने उक्त क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रलाई समेत निशाना बनाएको र आगलागी भएको दाबी गरेको छ।

यसैगरी क्रास्नोडार क्षेत्रमा दुई बालबालिकासहित तीन जनाको मृत्यु भएको तथा बेलगोरोडमा दुई जनाको मृत्यु र १३ जना घाइते भएको रुसी अधिकारीहरूले बताएका छन्। रुसी नियन्त्रणमा रहेको क्रिमियाको सेभास्तोपोलमा ड्रोनले बसमा प्रहार गर्दा दुई जनाको मृत्यु भएको र १० जना घाइते भएको बताइएको छ।

उता, युक्रेनको राजधानी किभमा रुसी ब्यालिस्टिक क्षेप्यास्त्रले रेल पूर्वाधारमा प्रहार गर्दा एक जनाको मृत्यु भएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। किभ क्षेत्रमा शनिबार भएको अर्को आक्रमणमा थप दुई जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

रुसी आक्रमणबाट जापोरिजियामा पनि मानवीय क्षति भएको छ। शुक्रबार क्रिभी रिहस्थित एक सपिङ सेन्टरमा भएको रुसी ड्रोन आक्रमणमा मृत्यु हुनेको संख्या १६ पुगेको र १३० भन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

पुटिनले युक्रेनले रुसी आर्थिक संरचनालाई निशाना बनाएर ‘प्यान्डोराको बाकस’ खोलेको टिप्पणी गर्दै त्यसको जवाफ आउने चेतावनी दिएका छन्। उनले रुसको आगामी कारबाही अझ प्रभावकारी र विनाशकारी हुन सक्ने संकेत गरेका छन्।

यता, युरोपेली मुलुकहरूले युक्रेनलाई थप सैन्य तथा मानवीय सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले युक्रेनलाई सैन्य उपकरण तथा क्षेप्यास्त्र आपूर्ति तीव्र बनाउने बताएका छन्।

जर्मनीले पनि युक्रेनका लागि थप ५ करोड ८० लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। रुसले आगामी हिउँदमा युक्रेनको ऊर्जा पूर्वाधारलाई पुनः निशाना बनाउन सक्ने आशंकाबीच युरोपेली मुलुकहरूले युक्रेनको हवाई सुरक्षा र ऊर्जा प्रणाली मजबुत बनाउन सहयोग बढाइरहेका छन्।