अन्तराष्ट्रिय

गाजामा इजरायली हवाई आक्रमण, चार वर्षीय बालकसहित दुई जनाको मृत्यु

गाजा । गाजा पट्टीमा आइतबार भएका दुई इजरायली हवाई आक्रमणमा चार वर्षीय बालकसहित कम्तीमा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूका अनुसार मध्य गाजाको जवाइदा क्षेत्रमा भएको पहिलो आक्रमणमा एउटा भवनलाई लक्षित गरिएको थियो। आक्रमणपछि उछिट्टिएको भग्नावशेष र छर्राले आसपासका मानिसहरू घाइते भएका थिए। घाइतेमध्ये चार वर्षीय मोहम्मद अब्देल–सलाम ताहा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।

त्यसैगरी, दोस्रो आक्रमण नजिकैको नुसेरात शरणार्थी शिविरमा भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

इजरायलले गाजाबाट ड्रोन, बेलुन तथा पतंग उडाइएको दाबी गर्दै त्यस्ता गतिविधि तत्काल नरोके गाजामा थप आक्रमण तीव्र पार्ने चेतावनी दिएको छ। हमासले भने इजरायलमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै आएको छ।

गत अक्टोबरदेखि लागू युद्धविरामपछि पनि गाजामा इजरायली सैन्य कारबाही जारी रहेको प्यालेस्टिनी अधिकारीहरूको भनाइ छ। युद्धविराम लागू भएयता गाजामा १,२८० भन्दा बढी प्यालेस्टिनी मारिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।