विविध

त्रिशूली–३ ‘ए’ को टनेलभित्र फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली खटियो

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र मानिसहरू फसेको आशंकापछि सरकारले विगत दुई दिनदेखि उद्धार प्रयासलाई निरन्तरता दिएको छ। शनिबार बिहानैदेखि टनेलको प्रवेशद्वार खोल्ने कार्यलाई थप तीव्र पारिएको छ।

टनेलको प्रवेशद्वार बाढीले बगाएर ल्याएको लेदो तथा भग्नावशेषले पुरिएपछि सुरक्षाकर्मीले ती सामग्री हटाउँदै सुरुङको मुख खोल्ने र भित्र फसेका मानिसहरूको खोजी गर्ने कार्य अघि बढाएका छन्।

सुरुङको मुख खोल्न तथा खोजी कार्यलाई तीव्र बनाउन हिजो रातिदेखि नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० जना गरी कुल ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको छ।

प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण उद्धार कार्य कठिन बनेको बताइएको छ। सुरक्षाकर्मीहरूले जोखिमका बीच सावधानीपूर्वक उद्धार अभियान सञ्चालन गरिरहेका छन्।

यसैबीच, उद्धारमा सहयोग गर्न आएको भारतीय उद्धार टोली त्रिशूली पुगेको छ। भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक हवाई अनुगमन (रेकी) गरी अवस्थाको मूल्यांकन गर्ने र आवश्यकता अनुसार थप उद्धार कार्य अघि बढाउने योजना बनाएको छ।

टनेलभित्र कति जना व्यक्ति फसेका छन् भन्ने यकिन विवरण भने उद्धार टोलीले प्रवेशद्वार खोलेर भित्रको अवस्था निरीक्षण गरेपछि मात्र स्पष्ट हुने जनाइएको छ।