पहिरोले नदी थुनिएर फुट्दा बुढीगण्डकीमा आकस्मिक बाढी आएको आशंका, २ लाख एसएमएसबाट पूर्वसूचना

पहिरोले नदी थुनिएर फुट्दा बुढीगण्डकीमा आकस्मिक बाढी आएको आशंका, २ लाख एसएमएसबाट पूर्वसूचना

काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढी पहिरोले नदी थुनिएर फुटेका कारण आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। पछिल्लो २४ घण्टामा उक्त क्षेत्रमा छिटपुट मात्र वर्षा भएकाले तत्कालीन वर्षाका कारण बाढी आएको सम्भावना नरहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ।

गोरखाको चुमनुब्री गाउँपालिका–६, तुम्जेस्थित बुढीगण्डकी नदीको सहायक नदीतर्फबाट आएको आकस्मिक बाढीबारे आज बिहान ६ बजे बाढी पूर्वानुमान शाखामा प्रारम्भिक जानकारी प्राप्त भएको थियो। प्राप्त सूचना र भू–उपग्रहका तस्बिरहरूको प्रारम्भिक अवलोकनका आधारमा पहिरोले नदी थुनेपछि त्यसको अवरोध फुटेर एक्कासि बाढी आएको हुन सक्ने अनुमान गरिएको हो। घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत प्राविधिक विश्लेषण भइरहेको छ।

बुढीगण्डकी–आरुघाट बाढी मापन केन्द्रमा बिहान ६ः३० बजे जलसतह २.२८ मिटरबाट बढेर ३.६६ मिटर पुगेको थियो। उक्त केन्द्रमा सतर्कता तह ४.५० मिटर तोकिएको छ। त्यसपछि बिहान ७ः५० बजे जलसतह बढेर ५.०१ मिटर पुगेको थियो, जुन खतरा तह ५ मिटरभन्दा माथि हो।

केही समय घटेको जलसतह पुनः तीव्र गतिमा बढ्दै बिहान ८ः३० बजे ६.२२ मिटर र ८ः४० बजे ८.४३ मिटर पुगेको थियो। त्यसलगत्तै बाढीले पुलसहित मापन केन्द्र बगाएपछि थप जलसतहको विवरण प्राप्त हुन नसकेको शाखाले जनाएको छ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै बिहान सूचना प्राप्त हुनासाथ नदीको तटीय क्षेत्रदेखि बेनीघाटसम्मका बासिन्दालाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो। बिहान करिब ८ बजे फेसबुक लाइभमार्फत अवस्थाबारे जानकारी दिँदै जोखिमयुक्त बस्ती खाली गर्न तथा आवश्यकताअनुसार राजमार्ग र करिडोरमा आवागमन बन्द गर्न अनुरोध गरिएको थियो।

त्यसैगरी, मुग्लिङसम्म उच्च सतर्कता अपनाउन र तनहुँ, चितवन तथा नवलपरासीका सम्भावित प्रभावित क्षेत्रमा समेत सावधानी अपनाउन अपिल गरिएको थियो। बिहान ९ः२५ बजे पुनः एसएमएसमार्फत सूचना पठाउँदै सर्वसाधारण तथा सरोकारवालालाई सुरक्षित स्थानमा जान र थप सूचना जारी नभएसम्म त्यहीँ रहन अनुरोध गरिएको थियो।

बाढी पूर्वानुमान शाखाका अनुसार दुई पटक गरी करिब २ लाख एसएमएसमार्फत पूर्वसूचना सम्प्रेषण गरिएको छ।

बुढीगण्डकी नदीको तटीय तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई आज साँझसम्मै नदी किनार र जोखिमयुक्त बस्तीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। नदीको बहाव घटेको देखिए पनि जोखिम नटरेको भन्दै पुल तथा जोखिमयुक्त सडकमा आवागमन नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न अनुरोध गरिएको छ।

बाढीको वास्तविक कारणबारे थप प्राविधिक विश्लेषणपछि निष्कर्ष सार्वजनिक गरिने र अवस्थाबारे अद्यावधिक जानकारी दिइने जनाइएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply