काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटाको मोबाइल प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनकहाँ कसरी पुग्यो भन्ने प्रश्न उठाउँदै सरकारसँग जवाफ मागेका छन्।
बुधबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा शर्माले अनुसन्धानका क्रममा प्रहरीले नियन्त्रणमा लिएको मोबाइल प्रधानमन्त्रीका सल्लाहकारको हातमा पुगेको विषय गम्भीर भएको बताए। उक्त मोबाइलबाट के तथ्य मेटाउन खोजिएको हो भन्ने प्रश्नसमेत उनले उठाए।
कांग्रेसमाथि आर्थिक कारोबारको आरोप लगाउँदै सार्वजनिक गरिएको अडियो प्रकरण नियोजित भएको शर्माको दाबी थियो। उनले कांग्रेसमाथि लगाइएका आरोप र त्यससँग सम्बन्धित प्रचारलाई निराधार तथा सुनियोजित भन्दै घटनामा संलग्न पात्रहरूबारे समयक्रममा थप तथ्य सार्वजनिक हुने बताए।
कांग्रेसमाथि उठेका प्रश्नको सामना गर्न आफूहरू तयार रहेको उल्लेख गर्दै शर्माले इनम सापकोटा प्रकरणलगायत घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गर्न माग गरे।
सरकारको नियन्त्रणमा रहेका व्यक्तिको बयान तथा अडियो सार्वजनिक गर्ने प्रक्रियामाथि पनि उनले प्रश्न उठाए। असम्बन्धित व्यक्तिका विषयलाई जोडेर चरणबद्ध रूपमा अडियो सार्वजनिक गर्दै कांग्रेस नेतृत्वलाई बदनाम गर्न खोजिएको उनको आरोप थियो।
सरकारको कामकारबाहीप्रति आलोचना
शर्माले सरकारले जनताका प्राथमिकताका विषयमा ध्यान नदिएको आरोप लगाए। भोटेकोशी विपद्पछिको पुनर्स्थापना, बेपत्ता नागरिकको खोजी तथा आसन्न कोप–३१ जस्ता विषयमा ध्यान दिनुपर्ने बेला सरकार प्रहरी महानिरीक्षक हटाउने विषयमा केन्द्रित भएको उनको टिप्पणी थियो।
प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गरून् भन्ने आफ्नो चाहना रहेको बताउँदै उनले सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि जनाए। सिंहदरबार र बालुवाटारमा ‘रमिता’ भइरहेको टिप्पणी गर्दै शर्माले मतदाताले दिएको मतको सदुपयोग हुन नसकेको बताए।
प्रेस स्वतन्त्रताको पक्षमा आवाज
शर्माले सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने गतिविधिप्रति पनि आपत्ति जनाए। पत्रकारले सत्तापक्ष र प्रतिपक्ष दुवैलाई स्वतन्त्र रूपमा प्रश्न गर्न पाउनुपर्ने उनको भनाइ थियो।
लोकतन्त्रको अवस्था पत्रकारले स्वतन्त्र रूपमा लेख्न र प्रश्न गर्न पाउने वातावरणबाट पनि मापन हुने उल्लेख गर्दै उनले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप स्वीकार्य नहुने बताए। मिडियाको गेटमा गाडी तेर्स्याइएको घटनाबारे सञ्चारमाध्यमले पर्याप्त फलोअप नगरेको भन्दै उनले प्रश्नसमेत उठाए।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा राजनीतिक दलसँगै सञ्चारकर्मीको पनि योगदान रहेको स्मरण गराउँदै शर्माले प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने प्रयासको विरोध गर्नुपर्ने बताए।